काँग्रेस महाधिवेशनः गुरुङद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

काठमाण्डौँ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बुधबार उम्मेदवारी घोषणा गर्दै गुरुङले पार्टीमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको भन्दै आफूले ८० प्रतिशत युवा क्रियाशील सदस्यको प्रतिनिधित्व गर्ने दाबी गरे।


उनले ३० वर्षदेखि पार्टी र देशको नेतृत्व उही पुस्ताले गरिरहेको भन्दै शासन व्यवस्थामा परिवर्तन आएपनि नेतृत्वको सोचमा परिवर्तन नआएको बताए। उनले आफू सभापति भएपछि गर्ने कामबारे पनि स्पष्ट पारेका छन्।
उनले भने, ‘म सभापति भए भने सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउँछु।

सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु। समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटक मात्र मन्त्री हुन पाउने, दुई पटक मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका लागि र पार्टीको विधानमा व्यवस्था गर्छु।’

यस्तै, उनले एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटक मात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्ने बताए।

स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने उनको भनाई छ।

‘सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सवैको पहुँच, अनिवार्य र निशुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेर सबै नागरिकलाई निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्छु’ उनले भने, ‘६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउने पहल गर्छु। त्यसका लागि कडाभन्दा कडा कानुन बनाउँछु।’

ताजा समाचार