सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा

१५ जनाको मृत्यु, २५ जना वेपत्ता, ७ जना घाइते

महेन्द्रनगर । आइतबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा १५ जनाले ज्यान गुमाएका छन् ।

बाढीपहिरोमा परि हालसम्म डोटीमा सबैभन्दा बढी ९ जना,बैतडीमा ४ जना र डडेल्धुरामा २ जनाको गरि १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवत्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक विक्रम चन्दका अनुसार डोटीको जोरायल गाउँपालिका–४ नवलपुरका ६३ वर्षिय जोगी सार्कीको घरमाथीबाट पहिरो खस्दा सार्की सहित उनकी श्रीमती ५५ वर्षिया झुपरी सार्कीको मृत्यु भएको छ । यस्तै सोहि वडाको सयगडामा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक,छोरी पबित्रा विक र भान्जा रविन विक रहेका प्रहरीले जनाएको छ । यस्तै डोटीको शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरा बलायर स्थानिय गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा उनकोपनि उपचारका क्रममा मृत्यु भएको एसएसपी चन्दले बताए ।

यस्तै जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनका छोराहरु १४ वर्षीय सागर र ११ वर्षीय आशिष कुन्जेडाको समेत मृत्यु भएको छ ।

प्रहरीका अनुसार डडेल्धुरामा बाढीपहिरोमा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भातकाडाका ३२ वर्षिय विष्णु अवस्थीको घरमाथीबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको एसएसपी चन्दले बताए । उनका अनुसार गन्यापधुरा–३ की ६५ वर्षिया नरपता शाहीलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

उता बैतडीमा पनि पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका– ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको एसएसपी चन्दले बताए । मृत्यु हुनेमा २१ वर्षीया पवित्रा पार्की, २५ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् ।

प्रहरीले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको जनाएको छ । बैतडीकै सुर्नया गाउँपालिका–५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको एसएसपी चन्दले बताए । उनकाअनुसार लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बाढीपहिरोले ठुलो ज्यू–धनको क्षती भएको छ ।

२५ जना बेपत्ता

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको एसएसपी चन्दले बताए ।

गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना गरि २३ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका एसएसपी चन्दले बताए ।

यस्तै सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि सम्पर्कविहिन छन् । यस्तै नदिमा माछा मार्न गएका कैलालीका ३० वर्षिय गणेश आउजी बेपत्ता भएका छन् ।

एसएसपी चन्दका अनुसार डोटीका विरे रोकायालाई स्थानिय खोलाले बगाउँदा उनि पनि हालसम्म बेपत्ता रहेका छन् । पहिरोमा परी प्रदेशमा हालसम्म १५ घर भत्किएको बताइएको छ । बझाङमा ११, डोटीमा २ र डडेल्धुरामा २ घर भत्किएको प्रहरीले जनाएको छ ।

७ जना घाइते

बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाइते भएका छन् । डोटीका बिरबहादुर कुन्जेडा ३३ वर्षीया बासुदेबी कुन्जेडा र ७ वर्षीय बिन्दा कुन्जेडा घाइते भएका छन् ।

डडेल्धुरामा पहिरोमा परी २५ वर्षीय देवकी रावल र ७ वर्षीय ग्रिस रावल घाइते भएका छन् भने बैतडीमा ५५ वर्षीया सरस्वती बिष्ट र ३० वर्षकी माया बिष्ट घाइते भएकी छिन् ।

ताजा समाचार