कञ्चनपुरमा एचआईभी संक्रमतिको संख्या बढ्दै, १५ वर्षमा १ सय ४८ जनाको मृत्यु

महेन्द्रनगर । नेपाल सरकार तथा अन्य विभिन्न संघ संस्थाले एचआईभी एड्स सम्बन्धि थुप्रै सचेतनामुलक कार्यक्रम गर्ने गर्छ । यद्यपी यो रोगबाट संक्रमित विरामीको संख्या भने वर्षेनी बढ्दै गइरहेको छ । नेपालमा सर्वप्रथम वि.स. २०४४ सालमा एचआईभी/एड्स फेला परेको थियो ।

त्यस बेलादेखी अहिले सम्म यसको महामारी बढीरहेको छ । काम खोज्दै भारतका विभिन्न सहर तथा अन्य मुलुक पुगेका पुरुषहरू असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमित भई घर फर्केपछि उनीहरूबाटै अरुमा सर्ने भएकोले नेपालमा यो रोगबाट संक्रमितहरुको संख्या बढीरहेको छ ।

कञ्चनपुर जिल्लामा पनि एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ । महाकाली अस्पतालको एआरटी उपचार केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म ६ सय ३ जना एचआईभी/एड्स बाट संक्रमित विरामी रहेका छन् । जम्मा ६ सय ३ जना मध्य १ सय ४८ जनाको मृत्यु, ९१ जनालाई रेफर, ५५ जना हराएको र ३ सय ९ जनाले औषधी सेवन गरीरहेको महाकाली अस्पतालका एआरटी एचए ममता सुनारले बताइन् ।

महाकाली अस्पताल कञ्चनपुरको एआरटि उपचार केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा जम्मा एड्स संक्रमित मध्ये २ सय ६३ जना महिला, ३ सय जना पुरुष, ३६ जना बालवालिका र ४ जना तेस्रो लिङगी रहेका छन् । महाकाली अस्पतालका एआरटी काउन्सिलर विमला भट्टले भनिन् ‘जिल्लामा हालसम्म २९ महिला, १ सय ८ पुरुष र ११ बालवालिका गरी जम्मा १ सय ४८ जनाको एड्सका कारण मृत्यु भईसकेको छ ।’

त्यस्तै अस्पतालको एआरटी उपचार केन्द्र बाट ९१ जना संक्रमितलाई रेफर गरीएको काउन्सिलर भट्टले बताईन् । ‘महाकाली प्रादेशिक अस्पतालको एआरटी उपचार केन्द्रको तथ्याङक अनुसार ५५ जना संक्रमित व्यक्तिहरु हराएको सुचिमा छन् ।’ उनले भनिन् ‘अन्तिम पटक औषधी लिएको तीन महिना सम्म पनि सम्पर्कमा नआएका व्यक्तिलाई हामी हराएको भन्छौ ।’

जिल्लामा पछिल्ला तीन वर्षमा मात्रै १ सय १३ जनामा एचआईभी/एड्स संक्रमण पुष्टि भएको काउन्सिलर भट्टले बताईन् । उनका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा २७ पुरुष,२७ महिला,७ बालवालिका र २ जना तेस्रो लिङगी गरी ६३ जनामा,आर्थिक वर्ष ०७६/०७७ मा २४ पुरुष,१५ महिला,२ तेस्रो लिङगी र १ जना बालवालिका गरि ४२ र आव ०७७/०७८ मा ३ जना पुरुष,११ जना महिला, ३ जना बालवालिका र १ तेस्रो लिङगी गरी १८ जनामा एचआईभी÷एड्स संक्रमण पुष्टि भएको छ ।

‘हाल कञ्चनपुरमा एचआईभी/एड्स संक्रमितको संख्या बढ्दै गएको छ, प्रत्येक वर्ष ३०/४० नयाँ संक्रमित फेला पर्ने गरेका छन् ।’ कान्सिलर भट्टले भनिन् ‘यो तथ्याङ्क त हामी कहाँ पुगेको तथ्याङ्क मात्र हो धेरै संक्रमितहरु लाज मानेर, यो सम्बन्धि थाहा नभएर हामी सामु नपुगेका संक्रमितहरु अझ बढी हुन सक्छन् जस्को कुनै तथ्याङ्क नै छैन ।’ उनका अनुसार हाल सर्वसाधारण यो रोग सम्बन्धि सचेत रहेका र आफ्नो स्वास्थ चेक जाच खुलेर गर्ने गरेको कारण पछिल्लो समय मृत्युदर भने घटेको छ ।

यो रोगको न्युनिकरणको लागी विदेश बाट फर्के पछि रगत चेक जाँच गर्ने, औषधी निरन्तर सेवन गर्ने, यौन सम्पर्क राख्दा गर्भनिरोधकको अस्थाई साधनको प्रयोग गर्ने, एड्सका लक्षण देखा परेमा जति सक्दो चाडो स्वास्थ चौकी जानु पर्नेमा कान्सिलर भट्टले जोड दिईन् ।

संक्रमितहरुले खानपानमा ध्यान दिएमा, समयमा औषधी खाएमा, स्वास्थ्य चेकजाच गरेमा बाच्न सकिने काउन्सिलर भट्टले जानकारी दिईन् ।

ताजा समाचार