महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले नगर क्षेत्रमा रहेका खोला नालाको अतिक्रमण हटाउने तयारीमा लाग्न वडाध्यक्ष, कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
गत साता परेको ‘रेकर्ड ब्रेक’ अविरल वर्षाका कारण आएको बाढीले भीमदत्त नगरपालिकाका १९ वटै वडामा ठुलो धनको क्षति भएको र सयौँ परिवार विस्थापित भएका थिए ।
बाढीका कारण वडामा भएको क्षतिको विवरण संकलन, विस्थापित परिवारको पुनःस्थापन, राहत वितरण, पुनः निर्माण लगाएतका कार्य बारे जानकारी लिन तथा आगामी योजना सम्बन्धि बुधवार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख बोगटीले खोला नालाको अतिक्रमण हटाउन तयारी गर्न निर्देशन दिनुभएको नगरप्रवक्ता पदमराज अवस्थीले बताउनुभयो ।
‘आज(बुधवार) नगरप्रमुखज्यूले वडाध्यक्ष कर्मचारीहरुसंग गतसाता आएको बाढीका कारण भएको क्षतिको विवरण संकलन, विस्थापित परिवारको पुनःस्थापन, राहत वितरण, पुनः निर्माण लगाएतका कार्यका बारे जानकारी लिनुभएको छ र आगामी योजना तथा राहत वितरण सम्वन्धि समेत छलफल भएको छ ।’ उनले भने ‘छलफलमा खोला नालाको अतिक्रमण कारण समेत बाढी, डुवान भएर बढी क्षति भएको कुरा आएपछि नगरप्रमुखज्यूले त्यस्ता अतिक्रमण समेत हटाउने तयारी गर्न वडाध्यक्ष, कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।’
उनले अगाडी भने ‘तत्काल यो वर्षातको समयमा खोला नाला सफा गर्दा (अतिक्रमण हटाउँदा) थप कटानको समस्या हुनसक्ने भएकोले यो वर्षायाम लगत्तै खोला नालाको अतिक्रमण हटाउने गरी तयारी गर्ने बैठकमा छलफल भएको छ ।’
नगरपालिका वडा कार्यालयहरुले आफ्नो स्रोत साधनको उच्चतम प्रयोग गरेर भत्किएका सडक कल्भर्टको अस्थायी रुपमा निर्माण, कटानका कारण जोखिममा रहेका घरहरुमा ग्राभेल, माटोले भरिएका कट्टा राख्ने कार्य, विभिन्न संघ संस्थाको सहयोगमा राहत वितरण, कुनै ठाउँ जाली भर्ने काम, क्षतिको विवरण संकलन गर्ने लगाएतका कार्य गरिरहेको र समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, संघ सरकारसङ्ग समेत माग गर्ने नगरप्रमुख बोगटीले बताए ।
नगरप्रवक्ता अवस्थीका अनुसार बाढी कारण नगरपालिकामा भएको क्षतिको पुनः निर्माण, राहत वितरण, पुनः स्थापना कार्य एक्लो नगरपालिका, स्थानिय तहको प्रयासले मात्र सम्भव नभएकोले प्रदेश सरकार, संघ सरकारसंग समेत माग गर्ने बैठममा छलफल भएको छ ।
यस्तै नगरपालिका र प्रत्यक वडाहरुले अन्य योजना कार्यक्रम हटाएर भएपनि यो आर्थिक वर्ष विपद् मा बजेटको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको नगरप्रवक्ता अवस्थीले बताए ।