बेलडाँडीलाई भष्ट्राचार रहित सुन्दर गाउँपालिका रुपमा विकास गर्न अघि बढेका राना

महेन्द्रनगर । कञ्चनपुरको पिछडिएको क्षेत्र मध्येको एक हो बेलडाँडी गाउँपालिका । बेलडाँडीमा अहिलेपनि शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई, रोजगारी,सडक लगाएतका क्षेत्रमा प्र¥याप्त विकास हुन सकेको छैन ।

भौतिक,सामाजिक,आर्थिक विकासले पछाडी परेको गाउँपालिकामा रहेका जनताका समस्या समाधान गर्न अब आउने जनप्रतिनिधिलाई अवसर र चुनौती दुबै छन् । बैशाख ३० गते हुने निर्वाचनमा बेलडाँडीका जनताका समस्या समाधान र गाउँपालिकाको विकास गर्छु भनेर उम्मेद्धवारी दिने मध्येका एक हुन् हरिशचन्द्र राना ।

वि.सं.२०५२ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध रहेर रानाले आफ्नो राजनितिक यात्रा शुरु गरे । २०५८ सालमा उनि नेपाल शिक्षक संघको आजिवन सदस्य भए । नेपाली काँग्रेसको १२औँ महाधिवेशमा उनले काँग्रेसको क्रियाशिल सदस्यता लिए । त्यसपछि १३ औँ महाधिवेशनमा उनि काँग्रेसको जिल्ला सदस्यमा निर्वाचित भए ।

देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा प्रत्यक्ष/अप्रत्यक्षरुपमा सहभागि भएका राना नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भए । लामो समय देश र जनताका लागि समर्पण गरेका रानालाई काँग्रेसले बेलडाँडी गाउँपालिकाको अध्यक्षका लागि चुनावी मैदानमा उतारेको छ ।

बेलडाँडीका अध्यक्ष पदका उम्मेद्धवार रानाले बेलडाँडी गाउँपालिकालाई भष्ट्राचार रहित सुन्दर गाउँपालिकाका रुपमा विकास गर्न अध्यक्ष पदमा आफुले उम्मेद्धवारी दिएको बताए । ‘अहिले बेलडाँडी गाउँपालिकामा भष्ट्रचार भएको खबर आएका छन् ।’ उनले भने ‘गाउँपालिकामा भएको भष्ट्राचारको छानविन गरेर बेलडाँडीलाई भष्ट्रचार रहित सुन्दर गाउँपालिकका रुपमा विकास गर्न मैले उम्मेद्धवारी दिएको हो ।’

बेलडाँडी गाउँपालिकामा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सञ्चार, यातायात,सडक लगाएतका समस्या समाधान गरि बेलडाँडी गाउँपालिकालाई पिछडिएको गाउँपालिकाबाट सुगम,विकसित सुन्दर गाउँपालिकाको रुपमा विकास गर्ने नेता रानाको मुख्य एजेण्डा छ ।

‘यो गाउँपालिकामा शिक्षा, स्वास्थ्य,खानेपानी,सिचाई,रोजगारी,सडकका समस्या छन् । यहाँ राना, चौधरीहरुको बाहुल्यता छ । अहिलेपनि राना थारुहरुका बालबच्चा विद्यालय नगइरहेको अवस्था छ । सामान्य प्राथमिक उपचारका लागि पनि अन्यत्र जानु पर्ने,धुलाम्य सडकमा हिड्नु पर्ने,फोहर पानी पिउनु पर्ने यहाँका जनताको बाध्यता छ ।’ उनले भने ‘यी सबै स्थानिय समस्या हामी स्थानिय सरकारमा निर्वाचित भएपछि पुरा गर्छौ ।’

यस्तै उनले सीमा विवादलाई समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने,कृषि उत्पादित बस्तुको बजारीकरण,वृद्धवृद्धा,असक्त,अपाङग तथा अभिभावक विहिन बालबालिकालाई निशुल्क स्वास्थ्य चेकजाच तथा उपचारको व्यवस्था लगाएतका काम समेत गर्ने नेता रानाले बताए ।

‘हामी जे बोल्छौँ त्यो गर्छौ ।’ उनले भने ‘हामी अरु दलका नेताका जस्तो हावा गफ दिएर भोट माग्दैनौँ,काम गरेको र गर्न सक्ने कामका आधारमा जनतासंग भोट माग्छौँ ।’ उनले अगाडी थपे ‘कम्युनिष्टहरुको अघिल्लो ५ वर्षमा गरेका काम देखेर बेलडाँडी गाउँपालिकाबासीले बुझिसकेका छन् । कम्युनिष्टले आफु र आफ्ना कार्यकर्ताका लागि मात्र काम गर्छन भनेर । त्यसैले सबै बेलडाँडीबासीले आगामी ५ वर्ष हामीलाई चाहेका छन् । र हामी जनताका इच्छा आवश्यकता पुरा गर्नेछौ र उहाँहरुलाई गलत मान्छेलाई भोट हालेछु भन्ने महसुस हुन दिने छैन भन्दै प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

ताजा समाचार