‘द वार अफ ग्याङस्टार्स ’जेठ १० देखि सुदूरपश्चिम भरिका हलमा

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरका स्थानीय युवाहरुले निर्माण गरेको ‘द वार अफ ग्याङस्टर्स ’ नामक फिल्म जेठ १० गते बाट महेन्द्रनगरको सेती माहाकाली फिल्म हलमा प्रर्दशन हुने भएको छ ।

३ वर्ष अघि निर्माण भएको सो फिल्म कोरोना र अन्य प्राविधिक कारणले प्रर्दशन हुन सकेको थिएन् । लागुऔषध तथा कुलतले युवामा परेको प्रभावलाई फिल्ममा देखाउन खोजिएको निर्देशक तथा कलाकार कमल सुनारले बताए ।

‘पछिल्लो समय युवाहरु लागुऔषध सेवन र समूह बनाएर झैझगडा गर्ने लगायतका क्रियाकलाप गरिरहेको पाइन्छ, त्यसले आफै र समाजमा पार्ने प्रभाव तथा असरबारे कथा बनाएका छौं,’ उनले भने, ‘नराम्रा क्रियाकलाप गुर्न हुँदैन, त्यसले हाम्रो जीवनमा के कस्तो असर पार्छ त्यो कथामा देखाएका छौं ।’ फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रमा गरिएको उनले बताए ।

‘महाकाली नदी किनार, दोधाराचाँदनी, महेन्द्रनगर लगायतका स्थानमा फिल्म छायांकन गरेका थियौं,’ उनले भने, ‘यस फिल्मले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ ।’ उनकाअनुसार फिल्ममा हुने जम्मा आम्दानीको ५ प्रतिशत वृद्धआश्रममा सहयोग गरिने छ ।

यसरी बन्यो फिल्म

पाँच वर्ष अगाडी स्थानीय कमल सुनारको नेतृत्वमा ५ जनाको समूह बन्यो । युट्युब भिडियो बनाउनका लागि उनीहरुले समूह बनाएका थिए । समूहमा थिए कमल सुनार, प्रकाश चनरा, निरज साउँद, नरेन चौधरी र राज भट्ट । उनीहरुले समूहको नाम दिए ‘वान टेक’ र एउटा सानो भिडियो बनाउने निर्णय गरे जसको नाम थियो ‘ग्याङस्टार्स’ ।

त्यो समूहले भिडियो निर्माणकै लागि प्रत्येक व्यक्तिबाट २ सय ५० रुपैयाँ पनि उठायो । तीन दिन भिडियो छायांकन गरेपछि उनीहरुको योजना परिवर्तन भयो । फिल्मनै निर्माण गर्ने सोचमा पुगे कमल ।

उनी समूहमा साथीहरु थाप्दै लगानीकर्ता खोज्न थाले । उनी आफैले कथा पनि तयार गरे । उनको कथा महेन्द्रनगरका एक जना युवालाई मन पर्यो । उनी थिए, लोकेन्द्र साउँद । साउँद कथामाथि लगानी गर्न तयार भएपछि १० लाखको लगानीमा ‘द वार अफ ग्याङस्टर्स’ फिल्म निर्माण भएको हो ।

फिल्ममा सुदूरपश्चिमका ४० जना बढी कलाकार सहभागी छन् । फिल्ममा नायकमा कमल सुनार, प्रकाश चुनारा, नरेन चौधरी, निरज सिँह साउँद, किशन जैशवाल, लाकेन्द्र साउँद र नायिकामा ज्योती अवस्थीको अभिनय रहेको छ ।

ताजा समाचार