इमान्दारीताका साथ काम गर्नेछुः मेयर बोगटी

महेन्द्रनगर । कञ्चनपुरका भीमदत्त नगरपालिकाका नवनिर्वाचित मेयर पदम बोगटीले आफु इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयले भीमदत्त नगरपालिकाको सभाहलमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा उनले त्यसो भनेका हुन् ।

‘म इमान्दारीताका साथ नगर र यहाँका जनताका समस्या समाधान गर्न काम गर्नेछु ।’उनले भने ‘काम गर्नका लागि इमान्दारीता चाहिन्छ । हामीले आफ्ना छोराछोरी,परिवारका लागि सोचेर पैसा कमाउन तिर ध्यान लगाएपछि काम,विकास हुदैन ।’ उनले अगाडी भने ‘त्यसैले हामी सबैले इमान्दारीताका साथ काम गर्नुपर्छ ।’

भीमदत्त नगरपालिकालाई नमुना नगर बनाउन सबैले इमान्दारीताका साथ आफ्नो काम गर्नुपर्ने मेयर बोगटीले बताए । यस्तै उनले बेरोजगार युवायुवतीहरुका लागि एउटा बेरोजगार कोष स्थापना गर्ने,७५ वर्ष माथीका वृद्धवृद्धाहरुलाई महिनाको कम्तिमा एक पटक घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने,गरिव,विपन्न परिवारका बालबालिकालाई निशुल्क पढाइने समेत बताए ।

‘७५ वर्ष माथीका वृद्धवृद्धाको महिनाको कम्तिमा एकपटक घरमा गएर निशुल्क स्वास्थ्य परिक्षण गर्छौ,बेरोजगार युवायुवतीहरुकालागि एउटा बेरोजगार कोषको स्थापना गरि सिपमुलक तालिम दिने र विदेश जान चाहनेहरुलाईपनि कुनै राम्रो देशमा पठाउने र जानलाग्ने लगानी पछि फिर्ता हुने गरि नगरपालिकाले नै उपलब्ध गराउने छ ।’ उनले भने ‘र गरिब विपन्न परिवारका बालवालिकाहरुलाई निशुल्क पढाउछौँ ।’

मेयर बोगटी सहित नवनिर्वाचित उपमेयर निलम लेखक र १९ वडाका वडाध्यक्ष,वडासमस्यहरुले सपथ खाएर पदभार समेत ग्रहण गरेका छन् ।

नवनिर्वाचित मेयर बोगटीे १५ हजार ८ सय ८२ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश पन्तले ८ हजार १ सय ४१ मत मात्रै पाए । राप्रपाका गजेन्द्र चन्दले ७ हजार १ सय ५ र नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४ सय ५२ मत मात्रै जोड्न सके ।

यस्तै उपमेयर निलम लेखक जोशी १२ हजार २ सय १६ मतले विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृष्णदत्त जोशी (बोक्सर) ले १० हजार ५ सय ९६ मत मात्रै पाए । त्यस्तै एमालेकी भुवन कुवँर ७ हजार ९ सय ६० मत,राप्रपाकी हेलन श्रेष्ठ ४ हजार ७ सय ७२ मतमा अड्किए । १९ वडा रहेको भीमदत्तमा १३ वडा नेपाली काँग्रेस,३ वडा नेकपा एमाले,२ वडा माओवादी केन्द्र र एक वडा स्वतन्त्र उम्मेद्धवारले जितेका छन् ।

ताजा समाचार