तारा एयरको जहाज दुर्घटना:१६ जनाको शव भेटियो

काठमाण्डौ । आइतबार बिहान १०:०७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटना भएको अवस्थामा फेला पर्‍यो।

सोमबार बिहानै यार्सागुम्बा खोज्न गएको टोलीले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्यो ।

अहिलेसम्म १६ जनाको शव संकलन भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

‘घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। अहिलेसम्मको जानकारी अनुसार १६ जनाको शव फेला परेको छ,’ उनले भने,‘शवहरू पहिचान गर्न सकिने अवस्थामा छन्।’

अरूको खोजी गर्ने काम भइरहेको उनले बताए।

नेपाली सेनाको काठमाडौंबाट गएको र पैदल हिँडेको टोली पनि घटनास्थलमा पुगिसकेको छ। यस्तै सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ।

अहिले घटनास्थलमा ६० जना भन्दा बढी जनशक्ति परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। उनका अनुसार जहाज दुर्घटना हुँदा आगलागी भएको छैन।

‘बर्निङ केही पनि भएको छैन। मौसमको जटिलता छ। कुहिरो पानी परेको छ,’ उनले भने,‘भूगोल हेर्दा झन्डै ८५ डिग्रीको स्लोप छ। त्यसकारण पनि उद्धारको काममा कठिन भइरहेको छ। शवहरू पनि छरिएको अवस्थामा छन्।’

ताजा समाचार