भीमदत्तको नगरकार्यपालिकाले पायो पूर्णता


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगरकार्यपालिकाले पूर्णता पाएको छ । नगर कार्यपालिका निर्वाचनबाट चुनिएका ८ जना सदस्यले मंगलबार नगरपालिकाको सभाहलमा सपथ खाएसँगै कार्यपालिका संयन्त्रले पूर्णता पाएको हो ।

मेयर, उपमेयर र वडाअध्यक्षहरू स्वतः कार्यपालिको सदस्य रहनेमा ८ जना निर्वाचनको माध्यमबाट पूर्ति गर्नुपर्ने प्रावधान छ । संविधानतः निर्वाचित जनप्रतिनिधिद्वारा नगर कार्यपालिका सदस्यमा महिला ५ जना र दलित र अल्पसंख्यकबाट ३ जनालाई स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम आएको १५ दिनभित्र चुनिनुपर्ने प्रावधान रहेको छ ।

नगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम जेठ ८ गते आइतबार घोषणा गरिएको थियो । मंगलबार प्रमुख निर्वाचन अधिकृत मदन धामीको अध्यक्षतामा नगरप्रमुख पदम बोगटीले निर्वाचित हुने कार्यपालिका सदस्य (महिला सदस्य तर्फ) वडा नं. ७ का लक्ष्मी कार्की, वडा नं. २ का बसन्ती देवी जोशी, वडा नं. १८ का सीता देवी भण्डारी, वडा नं. १५ का यशोधा खड्का र वडा नं. ९ का अञ्जली देवी बोहरालाई सपथ खुवाएका छन् ।

यस्तै (दलित र अल्पसंख्यक तर्फ) वडा नं. ४ का गणेश आग्री,वडा नं. १८ का चक्र सुनार र वडा नं. १९ का हरिहर दमाईले पनि सपथ खाएका छन् । उनिहरु सबै नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर,उपमेयर र १३ वडाअध्यक्षसहित ८४ जना, एमालेबाट ३ वडाअध्यक्ष सहित ८, माओवादी केन्द्रबाट २ वडाअध्यक्षसहित ४ जना र स्वतन्त्रबाट १ वडाअध्यक्ष निर्वाचित भएका थिए ।

नगरपालिकाको कार्यपालिका बैठकमा अब कांग्रेसबाट २३, एमालेबाट ३, माओवादी केन्द्रबाट २ र स्वतन्त्रबाट १ जना रहनेछन् । निर्वाचित कार्यपालिका सदस्यको प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यकममा नगरप्रमुख बोगटीले निर्वाचित कार्यपालिका सदस्यलाई बधाई दिदैँ नगरको विकासको लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

‘नगरपालिकाको विकासका लागि तपाईहरु निर्वाचित कार्यपालिका सदस्यहरुको भूमीका ठुलो हुन्छ ।’ उनले भने ‘त्यसैले यहाँको विकासका लागि हामी सबै मिलेर काम गर्नु आवश्यक छ ।’

ताजा समाचार