भीमदत्तका मेयर,उपमेयरद्धारा बाढी जोखिम क्षेत्रको अनुगमन (फोटोमा हेर्नुस)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र उप–प्रमुख निलम लेखक जोशीले बाढीको जोखिम रहेको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

विशेष गरि महाकाली नदि र भुजेला खोलाले भीमदत्त नगरपालिका वडा नम्बर–११,१२ आसपासका बस्तीमा पार्ने प्रभाव तथा क्षतिलाई मध्यनजर गर्दै स्थलगत अनुगमन गरिएको बताइएको छ ।

‘केही दिनमै मनसुन सक्रिय हुन्छ ।’ नगर प्रमुख बोगटीले भने ‘मनसुन सुरू भएलगत्तै महाकाली नदि र भुजेला खोलामा पानीको बहाव बढेपछि त्यसले निम्त्याउने क्षति तथा नोक्सानीलाई न्यूनिकरण गर्न वा समाधान गर्न सहज होस् भन्ने उद्देश्यले पूर्वतयारी अन्तर्गत अनुमगन गरिएको हो ।’

नगर उप–प्रमुख लेखकले लगत्तै सुरू हुने मनसुन अनि त्यसले निम्त्याउने प्राकृतिक विपद् रोकथामका लागि वडा नम्बर ११ र १२ का वाढी जोखिम क्षेत्रको अनुगमन गरिएकोे बताइन् । बस्तीमा क्षति तथा नोक्सानी हुन नदिन उक्त क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न सबैसँग पहल र समन्वय गर्ने नगप्रमुख बोगटीले बताए ।

अनुगमनमा नगरप्रमुख,उपप्रमुख सहित नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट,वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापा,१२ का वडाध्यक्ष भुपेन्द्र रावल,कार्यपालिका सदस्य योशोदा खत्री लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष थापाका अनुसार नगर प्रमुखको नेतृत्वमा भीमदत्त नगरपालिका–११ स्थित जिरो प्वाइट,जनज्योती टोल स्थित भुजेला खोला,वडा नम्बर १२ को वडा कार्यालय आसपासको बस्ती लगाएत निर्माणधिन चार लेनको महाकाली पुल पहुँच (भाइरल रोड) मार्ग क्षेत्रको अनुगमन गरिएको हो ।

गत वर्ष कार्तिकमा महाकाली नदिमा आएको बाढीले महाकाली चार लेन पुलको पहुच (भाइरल रोड) मार्ग कटान हुदाँ र भुजेला खोला बस्तीमा पस्दा सायौँ घर डुबान र ठुलो धनको क्षति भएको थियो ।

ताजा समाचार