नगर प्रमुख बोगटीद्वारा निर्माणाधिन मझगाउ विमानस्थलको अनुगमन

महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले निर्माणाधीन मझगाउ विमान स्थलको अनुगमन गरेका छन् ।
मंगलवार भीमदत्त नगरपालिका-१६ मझगाउमा निर्माणाधीन मझगाउ विमान स्थलको रनवे नाली निर्माणमा विवाद आएपछी मेयर बोगटीले स्थलगत अनुगमन गरेका हुन ।
अनुगमनको क्रममा उनले मझगाउ विमान स्थलको नाली निर्माणमा भएको विवादलाई समाधान गरि छिटोभन्दा छिटो एयरपोर्ट संचालनमा ल्याउन केन्द्रिय सरकारसँग पहल गर्ने बताए ।
मेयर बोगटीले भने ‘ यो एयरपोर्ट जति सक्दो छिटो संचालनमा ल्याउन, अहिले यो रनवे नाली निर्माणमा देखिएको विवादलाई समाधान गर्न केन्द्रिय सरकारसँग पहल गर्छु ।’
रनवे नाली निर्माणमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जले अवरोध गरिरहेको विमानस्थल निर्माण कम्पनीले जनाएको छ । २०३० सालमा सञ्चालनमा आएको विमान स्थल २०५६ सालमा सुरक्षाको कारण देखाउदै बन्द गरिएको थियो ।
बन्द रहेको विमानस्थलको २२ वर्षपछि केही महिना पहिला पुनःसञ्चालनका लागि निर्माणकार्य अगाडि बढाइएको हो ।
मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायतका संरचना निर्माण भइरहेको छ ।
निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।
विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ ।

ताजा समाचार