काँग्रेसबाट निर्वाचित भीमदत्तका जनप्रतिनिधिहरु सम्मानित

महेन्द्रनगर । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उपप्रमुख निलम लेखक जोशी,जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा लगाएत वडाध्यक्ष तथा सदस्यहरुलाई नेपाली काँग्रेस भीमदत्त नगर समितिले सम्मान गरेको हो ।

उत्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले जनप्रतिनिधिलाई बधाई दिँदै जनताले दिएको विश्वासलाई कायम राख्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

‘जनताले जुन विश्वासले हामीलाई निर्वाचित गराउनु भएको छ । त्यो विश्वास कायम हुनेगरि काम गर्नुहोला ।’ लेखकले भने ‘यदि हामीले जनताको विश्वास कायम राख्न सकेनौ भने आगामी दिनमा/निर्वाचनमा जनताले हामीलाई विश्वास गर्दैनन् । त्यसैले उहाँहरुको विश्वास अझ जित्ने गरि काम गर्नुहोस् ।’

यस्तै उनले राजनिति निर्वाचन जित्नको लागि मात्र नभई विकासका लागि गर्नुपर्ने बताए । ‘राजनिति चुनाव लड्न,जित्नका लागि होइन राजनिति विकासका लागि जनताका लागि गर्नुपर्छ ।’ उनले भने ‘राजनितिलाई विकास संग जोड्न जरुरी छ ।’ उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ लाई व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सकिएन भने भीमदत्त–दोधारा क्षेत्र ओझेलमा पर्ने समेत बताए ।

‘हामीले यो क्षेत्रलाई व्यापारिक क्षेत्रका रुपमा विकास गर्न सकेनौ भने यो ठाउँ ओझेलमा पर्छ ।’ यस्तै कार्यक्रममा नगर प्रमुख तथा नेपाली काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले आफु लोभ नगरी काम गर्ने बताउदै अरु जनप्रतिनिधिलाई समेत लोभ नगरी काम गर्न निर्देशन दिएका छन् ।

‘हामीले कुनैपनि कुराको लोभ गर्नु भएन ।’ उनले भने ‘यदि हामीले इमान्दारीताका साथ कसैको केही लोभ नगरी काम गरेपछि,कसैको डरपनि मान्नु पर्दैन र कसैसंग झुक्नु पर्दैन ।’ उनले अगाडी भने ‘त्यसैले लोभ नगरी जनतासंग गरिएका प्रतिवद्धता अनुसार म पनि काम गर्छु र तपाईहरु पनि गर्नुहोस ।’

यस्तै मेयर बोगटीले उक्त कार्यक्रम मार्फत वडाध्यक्ष,कार्यकर्ता तथा जनतालाई काम भएन भनेर हतार नगर्न समेत आग्रह गरेका छन् । ‘काम भएन भनेर हतार नगर्नुहोस् ।’ उनले भने ‘जनतासंग गरिएका प्रतिवद्धता विर्सेको छैन ५ वर्षभित्र सबै प्रतिवद्धता पुरा गर्ने गरि काम गर्छौ ।’

कार्यक्रममा नगर उपप्रमुख निलम लेखक जोशीले जनताको पक्षमा सम्भव भएसम्म राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी,सुदूरपश्चिम प्रदेश सह महामन्त्री गोपाल भट्ट,लगाएतका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

ताजा समाचार