नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

महेन्द्रनगर । राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त विधेयक संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक १५ दिनपछि संसदमा नै पुनर्विचार गर्न भनी टिप्पणसहित यही साउन २९ गते फिर्ता गर्नुभएको थियो । सो विधेयक फिर्ता भएको पत्रसहित आजको प्रनिनिधि सभा बैठकमा पेश भइसकेको छ ।

पुनः छलफलका लागि संसदमा पेश भएको उक्त विधेयकलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको स्रोतको भनाइ छ ।

यद्यपि संसदले यसलाई कसरी अघि बढाउँछ भन्ने कुरा हेर्न बाँकी छ । विधेयक हुबहु पास गर्ने गठबन्धनले निर्णय गरे पनि संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे भूमिका के हुन्छ, त्यसमा समेत भर पर्ने देखिन्छ ।

ताजा समाचार