कंचनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन्। मन्त्री पौडेलले आज विमानस्थलको पुनर्निर्माण कार्यको प्रगति र बाँकी कामबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका हुन्। अवलोकनका क्रममा उनले राज्यको लगानी खेर जान नहुनेमा जोड दिँदै पुनर्निर्माणमा देखिएका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको पनि स्थलगत अवलोकन गरेका छन्।
विसं २०५८ मा सुरक्षाको कारण देखाउँदै बन्द भएको मझगाउँ विमानस्थल त्यसयता सञ्चालनमा आउन सकेको छैन। पुनर्निर्माणका लागि तीन वर्षमा सम्पन्न गर्ने गरी २०७८ सालमा ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। हालसम्म विमानस्थलको निर्माण कार्य ७५ प्रतिशत सकिएको छ। पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समय थपिएको छ। एक हजार ५२५ मिटर धावनमार्ग (रन्वे) कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर धावनमार्ग निर्माण भइसकेको छ।
लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएको विमानस्थलको धावनमार्गका लागि गत वर्ष नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि निर्माणले गति पाएको हो। विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका भीमदत्त तथा दोधारा चाँदनी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको छ।



