समाचार लेख्न किन हतारो ?

नगरपालिकबाट सारी र कोट खरिद गरिएको छैन: प्रमुख प्रशासकीय अधिकृत गौली

महेन्द्रनगर । हिजो (साउन ३१ गते) मंगलबार कञ्चनपुरको महेन्द्रनगरबाट संचालित सिमारेखा र इ–विकल्पदैनिक डट कम अनलाईनमा ‘भीमदत्तको मनोमानी,प्रकिृया बिनै महिला जनप्रतिनिधिलाई सारी र कोट’ शिर्षकमा समाचार प्रकाशित भयो । उक्त समाचारको लिडमा भीमदत्त नगरपालिकाले महिला जनप्रतिनिधिका लागि पोशाक खरिद गरेको छ । कुनै प्रक्रिया पूरा नगरी नगरपालिकाले हचुवाको भरमा महिला जनप्रतिनिधका लागि कपडा खरिद तथा सिलाई गरिरहेको हो, भनेर लेखिएको छ ।

समाचार पढ्दा भीमदत्त नगरपालिकाले महिला जनप्रतिनिधिका लागि सारी र कोट खरिद गरिसक्यो भन्ने बुझिन्छ । यद्यपी नगरपालिकाले खरिद तथा खरिद गर्न कुनै कार्यादेश वा निर्णय भने गरेको छैन ।

सो विषयमा बुझन भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीलाई महिला जनप्रतिनिधिका लागि नगरपालिकाले सारी र कोट खरिद गरेको हो र ? भनेर प्रश्न गर्दा उनले भने ‘खै मैलेपनि मिडियामा समाचार पढेर थाहा पाएको । तर समाचारमा लेखेको जस्तो नगरपालिकाबाट कुनै पोशाक खरिद गरिएको छैन,खरिद गर्न कुनै निर्णय तथा कार्यालयबाट कार्यादेश समेत दिइएको छैन ।’ उनले अगाडी भने ‘खै के को आधारमा किन समाचार लेख्नु भयो ।’

सिमारेखा र इ–विकल्पदैनिक डटकममा लेखिएको समाचारलाई विश्वास गर्न नगरपालिकाको कार्यालयबाट रकम भुत्तानी गरेको वा कार्यादेश दिइएको वा कुनै निर्णय गरिएको हुनु पर्ने हो । तर नगरपालिकाबाट समाचारमा लेखिएको जस्तो खरिदको रकम भुत्तानी भएको छैन र कुनै कार्यादेश तथा निर्णय केही भएको छैन ।

यस्तै भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले महिला जनप्रतिनिधिका लागि सारी र कोट खरिद गर्ने भनेर नगरपालिकामा कुनै निर्णय नभएको बताए । ‘समाचारमा लेखिएको जस्तो नगरपालिकाले कुनै सारी र कोट खरिद गरेको छैन र कुनै निर्णय पनि भएको छैन ।’

उनले भने ‘पहिलो नगर सभामा केही महिला जनप्रतिनिधिहरु टिसर्टमा देखिदा नगरप्रमुख ज्यूले महिला जनप्रतिनिधिलाई म¥यादित पोशाकमा आउनु भन्नु भएको थियो ।’ उनले अगाडी भने ‘नगरप्रमुखले त्यसो भन्दा महिला जनप्रतिनिधिहरुले नगरपालिकाबाट खरिद गरिदिन माग गरेपछि नगर प्रमुख ज्यूले नगरपालिकाको आर्थिक अवस्था अहिले कमजोर रहेको र नगरको रकमबाट सारी खरिद गर्दा राम्रो म्यासेज नजाने भन्दै नगर उपप्रमुख नीलम लेखक जोशी र आफ्नो व्यक्तिगत तर्फबाट महिला जनप्रतिनिधिलाई सारी खरिद गर्ने भन्नु भएको हो । तर समाचारमा आएको जस्तो नगरपालिकाको पैसाले कुनै सारी र कोट खरिद गरिएको छैन र खरिद गर्न निर्णय पनि भएको छैन ।’

यस्तै नगर उपप्रमुख जोशीले महिला जनप्रतिनिधिका लागि नगरप्रमुख र आफ्नो व्यक्तिगत तर्फबाट सारी र कोट सिलाउन दिइएको बताइन् । ‘नगरसभामा प्राय महिला जनप्रतिनिधि म¥यादित पोशाकमा नआएको देखिएपछि नगर प्रमुख ज्यू र मैले व्यक्तिगत रुपमा महिला जनप्रतिनिधिहरुका लागि सारी र कोट खरिद गरिदिने भनेका हौ ।’ उनले अगाडी भनिन् ‘समाचारमा लेखिएको जस्तो नगरपालिकाबाट खरिद गरिएको छैन ।’ यस्तै उनले प्रकाशित समाचार आफुहरुलाई नसोधेर हचुवाको भरमा र जनतालाई झुक्काउने किसिमले लेखिएको समेत बताइन् ।

  नगर उपप्रमुख जोशीले आफुहरुले व्यक्तिगत रुपमा कुनै सामाग्री खरिद गर्न नपाउने हो र ? भनेर प्रश्न समेत गरेकी छन् ।

ताजा समाचार