भीमदत्त नगरपालिकाद्धारा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै निशुल्क स्वास्थ्य परिक्षण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उपमेयर नीलम लेखक जोशीले आफ्ना चुनावी प्रतिवद्धता पुरा गरिरहेका छन् ।

मेयर,उपमेयरले निर्वाचनका क्रममा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा गएर निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गर्ने प्रतिवद्धता अनुसार स्वास्थ्य परिक्षण गर्न शुरु गरिएको छ ।

शुक्रबार भीमदत्त नगरपालिका–८ स्थित भानुटोलबाट नगरपालिकाले ७५ वर्षमाथीका जेष्ठ नागरिकको निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गर्न शुरु गरेको हो । उक्त कार्यक्रममा नगर उप–प्रमुख नीलम लेखक जोशीले नगरप्रमुख लगाएत आफुहरुले निर्वाचनमा गरिएको प्रतिवद्धता अनुरुप वडा नम्बर ८ बाट ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गर्न शुरु गरिएको बताइन् ।

‘आज वडा नम्बर ८ बाट स्वास्थ्य परिक्षण गर्न शुरु गरिएको छ ।’ उनले भनिन् ‘१२ गते १६ नम्बर वडा हुदै अब सबै १९ वटै वडामा यो कार्यक्रम लागु हुन्छ ।’ कार्यक्रममा उनले अगाडी भनिन् ‘हामीले यहाँहरु संग गरेका सबै प्रतिवद्धता यसरी नै पुरा गर्दै जानेछौ ।’

यस्तै उप–प्रमुख जोशीले घरघरमा गएर इमान्दारिताका साथ वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएकी छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत याम नायरण गौलीले ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम निरन्तर सञ्चालन हुने बताए ।

‘यो कार्यक्रम अब छिटै अरु वडाहरुमा पनि लागु हुन्छ र निरन्तर यो कार्यक्रम सञ्चालन हुन्छ ।’ उनले भने ‘आगामी दिनमा पनि भीमदत्त नगरपालिका यस्ता अन्य कार्यक्रम ल्याउने छ ।’

यस्तै वडाधयक्ष मदन राज मिश्रले वडा नम्बर ८ मा ७५ वर्ष माथीका जेष्ठ नागरिक कोहीपनि नछुट्ने गरि सबैको स्वास्थ्य परिक्षण गरिने बताए । उनकाअनुसार हाल वडा नम्बर ८ मा ७५ वर्ष माथीका जेष्ठ नागरिक १ सय ८० जना रहेका छन् ।

स्वास्थ्यकर्मी शारदा सिंहले घरघरमा गएर वृद्धवृद्धाहरुको ब्लड प्रेसर(विपि),ज्वरो चेकजाँच र औषधी वितरण गर्नुका साथै आवश्यक परामर्श दिने कार्य गरिरहेका बताइन् ।

घरमै निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गराउन पाउँदा धेरै खुशी लागेको भानु टोलका ७६ वर्षिया विस्ना बुडालले बताइन् । उनले भनिन् ‘घर आगनमा आएर नगरपालिकाले यसरी स्वास्थ्य जाँच गरिरहेको छ धेरै खुशी लागेको छ ।’

ताजा समाचार