एमाले १५० सिट जित्छः अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक गरि कम्तिमा १५० सिट जित्ने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा बुधवार आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरि १५० सिट जित्ने दावि गरेका हुन् ।

‘आउँदो निर्वाचनमा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक गरि कम्तिमा १५० सिट जित्छ र दुनिया चकित पर्नेछ ।’ उनले भने ‘नेपाली जनताले आफ्नो तागत देखाउन पर्छ यो पटक,अरुको भरमा होइन,अरुका बलमा होइन,अरुका बैसाखी टेकेर होइन,अरुका पैसा छरेर होइन आफ्ना इमानका साथ,जनताले भोट खसाएर विजयी गराउछन र बाहिर भित्र सबै षड्यन्त्र नेपाली जनताले पराजित गर्न सक्छन् भन्ने यसपटक नेपाली जनताले देखाउछन् ।’

यस्तै कार्यक्रममा उनले देश जिताउन एमालेले जित्नु आवश्यक रहेको समेत बताए । ‘देशले जित्न नेकपा एमाले जित्नु पर्छ । यदि गठबन्धन जित्यो भने देश हार्छ ।’ उनले भने ‘देशको रक्षा गर्न,देशको विकासको गतिलाई अघि बढाउन,देशमा स्थायित्व कायम गर्न एमालेको सरकार चाहिन्छ ।’ उनले अगाडी भने ‘त्यसैले देशलाई जिताउन एमाले जित्नु पर्छ,एमालेलाई आफुलाई जित्नु परेको होइन,देशलाई जिताउन हो । त्यसकारण देश जिताउन एमालेको यो महाअभियानमा हामी सबै सरिक हौ ।’

सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादिलाई धक्का

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सुदूरपश्चिममा धक्का लागेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरु नेकपा (एमाले) मा फर्किएका छन् ।

एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ६ सय भन्दा बढि संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सबैभन्दा बढी नेता कार्यकर्ता समाजवादीका रहेका छन् ।

समाजवादीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिमका पूर्व मन्त्री तारा लामा तामाङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका जिल्ला उपाध्यक्ष एवं वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, माओवादीका नेता मोहन गिरी लगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् बुधबार एमाले अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका छन् ।

ताजा समाचार