निर्वाचन परिचालन कमिटी गठनमा नेकपा एमालेको तिव्रता

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी गठनलाई तिव्रता दिएको छ ।

मंगलबार कञ्चनपुर प्रतिनिधि निर्वाचन क्षेत्र–३ मा परिचालन कमिटि गठन गरेको एमालेले बुधबार क्षेत्र नम्बर २ मा कमिटी गठन गदैँ छ । भने क्षेत्र नम्बर १ मा बिहिबार परिचालन कमिटि गठन हुने एमाले कञ्चनपुरका कार्यालय सचिव अर्जुन कार्कीले बताए । उनका अनुसार मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका तयारी र कार्यकर्ता परिचालनका लागि एमालेले परिचालन कमिटी गठन गर्न लागेको हो ।

। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा मंगलबार बसेको पार्टीका प्रदेश, नगर, वडास्तरलगायत विभिन्न जन वर्गीय संगठनका नेताकर्ताहरुको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

भेलाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा १४ सदस्यीय निर्वाचन परिचालन कमिटिको सचिवालय गठन गरेको छ । उत्त कमिटीको संयोजक एमाले जिल्ला कमिटि सदस्य प्रमानन्द जोशीलाई तोकिएको छ । त्यस्तै एमालेले प्रदेश सभा निर्वाचन क्षेत्र ३(क) मा जनकराज अवस्थीको संयोजकत्वमा २५ सदस्यीय र निर्वाचन क्षेत्र ३(ख) मा विष्णु कणेलको संयोजकत्वमा २७ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

एमालेले आर्थिक परिचालन, मोर्चा संगठन परिचालन, पेशागत संगठन परिचालन, चुनावी प्रतिवद्धता मस्यौदा कमिटी, सामाजिक संञ्जाल परिचालन, प्रचार–प्रसार सामाग्री उत्पादन तथा परिचालन र सास्कृतिक परिचालन कमिटी गठन गरेको छ ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रसँगै प्रदेश, नगर र वडा स्तरमा परिचालन कमिटी गठन गरिरहेको छ ।
एमालेले वडास्तरमा पनि परिचालन कमिटि गठन गर्ने र सम्पर्क कार्यालय असोज भित्रै स्थापना गरि सक्ने जनाएको छ ।
कञ्चनपुर–३ मा राप्रपासँग चुनावी तालमेल गरेको गरेको एमालेले १ र २ मा एक्लै चुनावी मैदानमा होमिएको छ । एमाले तीन वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने रणनीतिका साथ अघि बढेको छ ।

कञ्चनपुर ३ मा प्रतिनिधि सभामा एमालेबाट नेतृ निरु पालको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश सभा (ख) मा एमाले कञ्चनपुरका जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र विष्टको उम्मेदवारी दर्ता भएको छ । भने ३ (क) मा एमालेले राप्रपाका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष धर्मराज जोशीलाई समर्थन जनाएको छ ।

एमालेले निर्वाचन परिचालनका लागि राप्रपासहितको क्षेत्र र वडास्तर परिचालन समन्वय कमिटि पनि गठन गरिने जनाएको छ । त्यस्तै एमालेले निर्वाचन क्षेत्र नम्बर २ मा कञ्चनपुर सह–ईन्चार्ज नर बहादुर धामीलाई प्रतिनिधि सभा र प्रदेश सभामा नेता कृपाराम राना र बचन बहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा तारालामा तामाङ्ग र प्रदेश सभाका लागि बिर बहादुर थापा(पातल) र पल्लब राज भट्टलाई एमालेले उम्मेदवार खडा गरेको छ । उम्मेदवारी दर्तासँग नेताहरु आन्तरिक र बाह्य चुनावी रणनीतिमा व्यस्त छन ।

नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले पार्टीले पुर्ण रुपमा जित्ने गरि नेता कार्यकर्तालाई परिचालन गर्ने काम भईरहेको बताए । साथै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै सुखि नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा एमालेलाई विजयी गराउन पनि आम मतदातामा अपील गरेका छन् ।

ताजा समाचार