भत्ता खाने उमेरमा सत्तामोह


महेन्द्रनगर । उमेरले ७० टेकेका कृष्णबहादुर ठकुरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार हुन् । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मालेका तर्फबाट उम्मेदवा बनेका छन् । हरेक निर्वाचनमा उठ्दै आएका ठकुरी उमेरले ७० टेक्दा पनि उम्मेदवार बन्ने रहरबाट पछि हटेका छैनन् ।

कृष्णबहादुर ठकुरी मात्र होइनन्, सिन्धुपाल्चोकमा यसपटक प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ६० वर्ष उमेर नाघेर सामाजिक सुरक्षाभत्ता (वृद्धभत्ता) को निम्ति छेउछाउ पुग्दै गरेका आठ जनाले उम्मेदवारी दिएका छन् ।

भत्ता खाने बेलामा उठेका यी उम्मेदवारहरु अधिकांश काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका हुन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको उमेर पनि ६४ पुगेको छ । अबको चार वर्षपछि बस्नेत वृद्ध भत्ता बुझ्न योग्य हुनेछन् ।

उनी २०४८ सालको आमनिर्वाचनदेखि काँग्रेसका तर्फबाट उम्मेद्वार बन्दै आएका छन् । धेरै वटा चुनावमा उम्मेद्वार बनेका बस्नेत ३१ वर्षको इतिहासमा दुई पटक विजयी भए, चार पटक पराजित । पूर्व स्वास्थ्य राज्यमन्त्री र सञ्चारमन्त्रीसमेत भइसकेका बस्नेत पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्दा ३३ वर्ष उमेरका थिए । तर अहिले दोब्बर उमेरको हुँदा पनि सत्तामोहका कारण भत्ता खाने उम्मेरमा पनि चुनावी मैदानमा देखिएका हुन् ।

राप्रपाबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नारायण पाण्डेको उमेर ६६ वर्ष भयो । उनी पनि संसदीय निर्वाचनमा भत्ताखाने उम्मेरको छेउछाउका अरु जस्तै उम्मेदवार बनेका हुन् । तर उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा भिडेको बताइन्छ ।

उता ६१ वर्षमा टेकेका सरेश नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार हुन् । ३० वर्षअघि २०४९ मा जिल्ला विकास समितिको उपसभापति, २०५४ मा सभापति र २०७४ मा प्रदेश सभा सदस्यमा विजयी भएका नेपाल वागमति प्रदेश सरकारमा यसअघि वन तथा वातावरणमन्त्री समेत भए ।

प्रदेश सभातर्फ भने ७० वर्षका कृष्णबहादुर तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा उम्मेद्वारी दिएका छन् । वृद्धभत्ता बुझ्दै गरेका उनी तामाङ समाजवादी पार्टीका उम्मेदवार हुन् ।

त्यस्तै ६८ वर्षका बाबुराम खड्काले राप्रपाको तर्फबाट क्षेत्र नम्बर २ ‘क’ मा प्रदेश सभा सदस्यमा उम्मेद्वार दिएका छन् । सोही क्षेत्रमा प्रदेश उम्मेदवार बनेका एमालेका अमानसिं तामाङ पनि ६२ वर्ष पुगिसकेका छन् ।

भक्तपुरबाट आएर नेपाल मजदुर किसान पार्टीका तर्फबाट सोही प्रदेशसभा सदस्यमा उम्मेद्वार बनेका रत्नकाजी नायभारीको उमेर ६४ वर्ष रहेको बताइन्छ ।

वृद्ध उम्मेद्वारलाई सत्ता होइन, भत्ता दिऔं भन्ने राष्ट्रव्यापी आवाज उठिरहेको बेला भत्ता खाइरहेका र खाने उमेर पुग्न लागेका यी जेष्ठ नागरिकहरुले यस पटक सिन्धुपाल्चोकमा २९ वर्षे ठिटादेखि ५९ वर्ष समूह भित्रका उम्मेद्वारसँग भिड्दै छन् ।

राजनीतिमा युवाको चाहना बढ्दै गइरहेको समयमा प्रमुख दलहरुमध्ये माओवादी केन्द्रले युवाहरुलाई प्राथमिकता दिएको देखिन्छ । उक्त पार्टीको तर्फबाट उम्मेद्वार बनेका माधव सापकोटा ४१, सरल सहयात्री ४१ र युवराज दुलालको उमेर ३९ वर्ष मात्रै छ । एमालेका होमनारायण श्रेष्ठ ४७ वर्षका छन् ।

प्रतिनिधि सभाको निर्वाचनतर्फ स्वतन्त्र उम्मेद्वार बनेका ३० वर्षे मुकन्द श्रेष्ठ कान्छो उम्मेद्वारको रुपमा देखिएका छन् । प्रदेशतर्फ नेपाली काँग्रेसका उम्मेद्वार २९ वर्षे कृष्णबहादुर तामाङ कान्छो उम्मेद्वार बनेका छन् ।

ताजा समाचार