चुनावको प्रचारप्रसार आमसभा ठुलादलहरुले सुदूरपश्चिमबाट सुरु

महेन्द्रनगर । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावको प्रचारप्रसार आमसभा ठुलादलहरुले सुदूरपश्चिमबाट सुरु गरेका छन्

। निर्वाचन आयोगले बिहीबारदेखि आम सभा कोण सभा र जुलुसका लागि अनुमति दिएसँगै सत्तागठबन्धनको डडेल्धुरामा चुनावी आमसभा आयोजना गरिएको हो ।

नेकपा एमालेले आज शुक्रबारदेखि दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएको छ । प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा मत पार्न सत्ता गठबन्धन र एमालेका नेताहरु चुनावी सभामा केन्द्रित भएका हुन् ।

बिहीबारदेखि चार दिनसम्म काँग्रसे पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुर पुगेर नेकपा एमालेका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको हो ।

एमालेका अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले हेलिकोप्टर प्रयोगको अनुमति लिएर चुनावी सभामा दौड्न थालेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बिहीबार डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले चुनावी आम सभाको सुरुवात गरेका हुन् ।

डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका देउवाले जिल्लामा चार दिन बसेर गठबन्धनका पक्षमा हुने चुनावी सभामा सहभागी हुने समय तालिका छ ।

नेकपा एमालेले आम निर्वाचन २०७९ को औपचारिक चुनावी सभा सुदूरपश्चिमबाट थालनी गर्ने भएको हो । एमालेले कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गरिएको सम्झनामा आज शुक्रबार राष्ट्रिय निर्वाचनको औपचारिक सभा दार्चुला सदरमुकाम खलंगामा गर्दैछ ।

चुनावी सभामा एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा पवित्र भूमि नेपालमा फिर्ता ल्याउने पार्टीको नीति अनुरुप नेकपा एमालेले चुनावी सभाको सुरुवात दार्चुलाबाट गरेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुलामा ११ बजे चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले दिउँसो २ बजे बैतडीको पाटनमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् ।

यस्तै, शुक्रबार नै अध्यक्ष ओलीले कञ्चनपुरमा पनि चुनावी सभालाई सम्बोधन गर्ने समय तालिका छ । ठुला राजनीतिक दलहरुले सुदूरपश्चिमबाट चुनावी सभा आयोजना गर्न सुरु गरेका हुन् ।

एमाले प्रदेश अध्यक्ष भण्डारीले नेकपा एमाले सुदूरपश्चिममा पहिलो ठुलो दल बन्ने दाबी गरेका छन् । ’नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पहिलो ठुलो दल बन्ने हामीले देखेका छौँ,’ उनले भने, ’चुनावपछि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सरकार बन्छ। ।’

सुदूरपश्चिमबाट प्रतिनिध सभाका १६ सिट र प्रदेश सभा सदस्यका ३२ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेश सभामा समानुपातिकतर्फ भने २१ सदस्य संख्या रहेको छ ।

नेकपा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाले हेलिकोप्टर प्रयोगको अनुमति लिएर चुनावी सभा गर्दैछन् ।

ताजा समाचार