सुदूरपश्चिममा हिउँदे बालीका लागि रासायनिक मलको अभाव

महेन्द्रनगर : सुदूरपश्चिममा यो वर्ष पनि हिउँदे बालीका लागि रासायनिक मल अभाव हुने भएको छ। प्रदेशको आवश्यकताभन्दा निकै कम मल उपलब्ध हुँदा यो वर्ष पनि किसान मल नपाएर समस्यामा पर्ने भएका हुन्।

प्रदेशमा गहुँ, तोरी, दलहन तथा तेलहन बालीका लागि यूरिया, डिएपी र पोटास प्रयाप्त उपलब्ध नहुँदा कृषि बालीको उत्पादन प्रभावित हुने देखिएको छ।तर अधिकारीहरूले भने गत वर्ष जस्तो मलको अभाव नहुने दाबी गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि हिउँदे खेतीका लागि रासायनिक मलको अभाव हुने देखिएको हो। कैलालीमा मात्रै हिउँदे खेतीका लागि ६ हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ। तर कृषी सामग्री कम्पनी लिमिटेड धनगढी शाखामा २ हजार ७८० मेट्रिक टन मात्रै छ।यस्तै कैलालीमा ८ हजार मेट्रिक टन यूरिया आवश्यक भए पनि २ सय मेट्रिक टन मात्रै मौज्दात छ।

कृषि सामग्री कम्पनी धनगढीमा १ सय ९० मेट्रिक टन मात्रै पोटास मलको मौज्दाज रहेको छ कृषि सामग्री कम्पनी धनगढीका निमित्त प्रमुख नवलसिंह बोगटीले बताए। “यो वर्ष पनि जति आवश्यक हुन्छ त्यति मल सुदूरपश्चिमको कोटामा परेन,” उनले भने, “मंसिर पहिलो हप्तासम्म फेरि मल आपूर्ति हुने हुँदा अभाव पोहोर सालको जस्तो हुन्न।

” सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि रासायनिक मलको आपूर्ति गर्ने गरेको छ।मागको ७० प्रतिसत मल कृषि सामग्री र ३० प्रतिसत आपूर्ति साल्ट ट्रेडिङ कर्पोरेसनले गर्छ। साल्ट ट्रेडिङ धनगढीले भने २ हजार ५ सय ९५ मेट्रिक टन युरिया प्राप्त गरेको जनाएको छ। जसमध्ये १ हजार ७ सय ५५ मेट्रिक टन कैलालीका लागि हो भने ८ सय ३९ मेट्रिक टन कञ्चनपुर र तीन सय मेट्रिक टन पहाडी जिल्लामा पठाइने साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले बताए।

“साल्ट ट्रेडिङलाई २ हजार ५९५ मेट्रीक टन युरिया कोटामा मिलेको छ, जसमध्ये हामीले तीन भाग लगाएर वितरण गर्नुपर्छ,” उनले भने, “केही वितरण भइसकेको छ भने मल वितरणको काम भइरहेको छ।” मंसिर पहिलो साता कैलालीका लागि थप मल आउने बताइएको छ।

तुलनात्मक रुपले आवश्यकताभन्दा कम मलको आपूर्ति भए पनि गत वर्षको जस्तो रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख बोगटीले बताए। कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति भए पनि हरेक वर्ष खेती लगाउने समयमा मलको अभाव हुने गरेको छ।

गोवर मल प्रयोग गर्ने पहाडी जिल्लाका किसानको पनि रासायनिक मल प्रयोगमा आकर्षण देखिएको छ। किसानले गाई भैंसी पाल्न छोड्दा खेतबारीमा तरकारीदेखि अन्नबाली उब्जाउन रासायनिक मलमाथिको निर्भरता भने बढ्दो छ।

ताजा समाचार