केपि कमरेडले महाकाली पुल आफुले बनाएको भन्नू र एयरपोर्टको काम कांग्रेसले रोक्यो भन्नू उस्तै हो: नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्वमन्त्री एवम कंचनपुर क्षेत्र न. ३ मा वाम- लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार रमेश लेखकले मझगाउ एयरपोर्ट शिलान्यासमा यहाँबाट निर्वाचित साथीहरूले हतार गरेको बताए ।

“अहिले एमालेका साथीहरूले एयरपोर्टको काम कांग्रेसले रोक्यो भनेर भ्रम फैलाइरहनु भएको छ । कम्युनिस्टका साथीहरूले काम गर्नु भएकै हो,उहाँहरुले नगरपालिका,प्रदेश र केन्द्र मिलेर बजेटको व्यवस्थापन गरेर एयरपोर्ट बनाउने कुरामा अगाडि बढाउनु भयो तर त्यो जग्गा एयरपोर्टको नाम मा छ कि छैन, एयरपोर्ट बनाउन आवश्यक जग्गा एयरपोर्टको नाम आएको छ कि छैन थाहा नगरी, जग्गाको व्यवस्थापन नगरी, प्रक्रिया नपुर्‍याइ काम देखाउनका लागि हतारले त्यसको शिलान्यास गरिदिनु भयो ।”

शनिवार भीमदत्त नगरपालिका-१६ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने “शिलान्यास गरिसकेपछि एयरपोर्टको काम रोकियो, किन रोकियो भनेर बुझ्दा त्यहा त एयरपोर्टको नाममा जग्गा नै आएको रहेनछ । काम रोकिए पछि म,नगरप्रमुख पदम बोगटी हामीले प्रधानमन्त्री,मुख्य सचीव, पर्यटन मन्त्रालय र रक्षा मन्त्रालयका सचीव सङ्ग कुरा गरेका छौ र अहिले नेपाली सेनाले एयरपोर्टका लागि जग्गा दिने समझदारी भएको छ ।” उनले अगाडि भने “त्यसैले हिजो केपि कमरेडले महाकाली पुल आफुले बनाएको भन्नू र एयरपोर्टको काम काङ्ग्रेसले रोक्यो भन्नू उस्तै हो ।”

शुक्रवार महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलिले महाकाली नदिको चार लेनको पक्की पुल आफुले बनाएको दावी गरेका थिए । यद्यपी उत्त पुल निर्माण गर्दा नेकपा एमाले सरकारमा थिएन । २०७३ सालमा रमेश लेखक भौतिक पुर्वाधार मन्त्री हुदा अगाडि बढेकाे महाकाली चार लेनको पुलको काम २०७४ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले पुलको शिलान्यास गरेका थिए ।

ओलिको शुक्रबारको अभिव्यक्ति पछि अरुले गरेको काम समेत आफुले गरेको भनेर भ्रम छरेको भन्दै उनको सामाजिक संजालमा आलोचना भइरहेको छ ।

ताजा समाचार