दार्चुलामा नेता तथा कार्यकर्ताबीच कुटाकुटः दुई जना घाइते

महेन्द्रनगर। दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

दुबैपक्षका कार्यकर्ताहरु बीचको झडपमा परि गाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए।

‘दिउँसो चुनावी प्रचारप्रसारको क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएको हो,’ उनले भने, ‘ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने धामीलाई धनगढी रिफर गरिएको सूचना आएको छ।’

एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए।

गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्। घाइतेमध्ये जयभानसिंहको टाउकोमा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले आक्रमणमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि धनगढी ल्याउन लागिएको जनाएको छ।

यसअघि पनि दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताहरु बीच झडप हुँदा ४ जना घाईते भएका थिए ।

ताजा समाचार