शुक्लाफाँटामा सामुदायिक वनका उपाध्यक्षमाथि हँसिया प्रहार

महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाको एक सामुदायिक वनका उपाध्यक्षमाथि हँसिया प्रहार भएको छ। शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा अवैद्य काठ बरामद गर्न गएका कालिका सामुदायिक वनका उपाध्यक्ष रुद्रीदत्त विष्टमाथि हँसिया प्रहार भएको हो।

उनीमाथि पिल्लरीफाँटाका स्थानीय २५ वर्षीय मिलन जप्रेलले हँसिया प्रहार गरेको सामुदायिक वनका अध्यक्ष्ँ लालबहादुर ऐरले बताए।

‘वर्षातको समयमा खोलाले बगाएर ल्याएको सालको रुख चोरी भएको थियो,’ उनले भने, ‘त्यो रुखको खाजी गर्दा जप्रेलको खेतमा गाडिएको अवस्थामा सालको गोलिया भेटायौं, खेतबाट निकाल्दा जप्रेलले उपाध्यक्षमाथि हँसिया प्रहार गरेका हुन्।’

घाइते विष्टको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ।

सामुदायिक वनका उपाध्यक्षमाथि हँसिया प्रहार गर्ने जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको छ।

जप्रेलको खेतमा लुकाइएको अवस्थामा भेटिएको ३ थान सालको गोलिया र १ थान विजयसालको गोलिया बरामद गरिएको शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख दुर्गेस धामीले बताए। बरामद गरिएको काठ ४८ क्यूफिट छ। 

ताजा समाचार