बाजुरा र स्याङ्जा-२ मा पुनः मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

महेन्द्रनगर । निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जा २ मा मतगणना सुचारु गर्ने निर्णय गरेको हो। बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले बाजुरा र स्याङ्जा २ मा मतगणना सुचारु गर्ने निर्णय गरेको हो।

स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको बताइएको छ।

आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको भनिएको थियो। बाजुरामा भने दुवै पक्षले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएका थिए।

कांग्रेसले धेरै ठाउँमा र एमालेले केही ठाउँमा बुथ कब्जा गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी गरिएको थियो। स्याङ्जा- २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना गर्न दिएका थिएनन्।

मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन।

ताजा समाचार