घरेलु हतियार प्रहार गरी एकजनाको मृत्यु, चारजना घाइते

महेन्द्रनगर। धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मतृकका कान्छो छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरका थिए ।

‘बुबालाई बञ्चरो आक्रमण गरेपछि चिच्याउनु भयो । हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण गर्न थाल्यो । बुबाको त्यहीँ मृत्यु भयो । हामी घाइते भयौं । अरु कुराहरु थाहा भएन,’ अशोकले भने । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।

ताजा समाचार