वेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि बोलाएको बैठक चार दलले गरे बहिष्कार

महेन्द्रनगर वेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि बोलाएको सर्बदलीय बैठक चार दलले बहिष्कार गरेका छन्।

उपमेयर तथा सामुदायिक पशु व्यवस्थापन समिति संयोजक तुलसी जोशी अनुपस्थित भएपछि चार दलले बैठक बहिस्कार गरेको जनाएका छन्। 

मेयर भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि आन्दोलन चर्किएपछि बुधबार दिउँसो कार्यालयमा सर्बदलीय बैठक राखेका थिए।

उपमेयर जोशी अनुपस्थित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा बहुमत र नेकपा क्रान्तिकारीले बैठक बहिष्कार गरेको बहुमतका कार्यालय सचिव दीपेन्द्र ऐरीले जानकारी दिए।

चार दलले उपमेयरसहित सर्बपक्षीय बैठक बोलाउन माग गरेका थिए।

ऐरीले बैठकमा उप मेयर अनुपस्थित भएपछि बहिष्कार गरिएको बताए। ‘उप मेयरको अनुपस्थितिमा सर्बदलीय बैठक बसाइयो, धेरै कुरा उहाँसँग सम्बन्धित भएकाले बस्नुको अर्थ रहेन,’ उनले भने।

चार दलले बैठक बहिष्कार गरेपछि चौपाया व्यवस्थापनका लागि आन्दोलन गर्न संघर्ष समितिसमेत गठन गरेका छन्। तेज ठकुल्लाको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो। 

नगरपालिकाले उपमेयर जोशी निवर्तमान अध्यक्ष रहेको वैजनाथ महिला कृषि सहकारी संस्थालाई व्यवस्थापनको जिम्मा पनि दिएको छ।

गत बैशाखमा उपमेयरमा उम्मेदवारी दिएपछि जोशीले मञ्जु सिंहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। तर अहिले पनि उक्त संस्थामा जोशीकै निर्णय लागू हुने गरेको छ। सहकारीमा उनकै परिवारका सदस्य पनि सल्लाहकार र पदाधिकारी छन्।

ताजा समाचार