पहिलो पटक दाङ एयरपोर्टमा ‘रिफ्यूलिङ’ सुविधा

महेन्द्रनगर। दाङ एयरपोर्टमा पहिलो पटक जहाजमा इन्धन भर्न सुरू भएको छ। बिक्रम सम्बत २०११ सालदेखि सेवा सुरू भएको दाङ एयरपोर्टमा आइतबार नेपाल वायु सेवा निगमको जहाजमा चार सय ६० लिटर इन्धन भरेको हो।

आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, रूपन्देहीको भैरहवा कार्यालयबाट दुई जना र बाँकेको नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिक टोली आएर दाङ एयरपोर्टमा पहिलो पटक इन्धन भरेका हुन्।

तुलसीपुर उपमहानगरपालिका(१२ स्थित टरिगाउँ एयरपोर्टमा विमान सेवा सुरू भएको ६ दशक लामो इतिहसमै पहिलो पटक इन्धन डिपो सञ्चालनमा आएको छ। यो सँगै विमानमा इन्धन रिफ्यूलिङको काम दाङमै सुरु भएको हो। यसले अब अन्य विमान सेवाहरुले पनि उडान भर्ने आशा पलाएको छ।

नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिश चन्द्र यादवले अब दाङ एयरपोर्टबाटै नियमित रिफ्यूलिङको काम हुने सेतोपाटीलाई बताए ।

गत वर्ष साउनदेखि करिब डेढ करोड लागतमा विमानस्थलका लागि छुट्टै डिपो निर्माणको काम सुरू भएको थियो। डिपोको लागि आवश्यक संरचना निर्माण पुरा गरी ६ महिना पहिलेबाटै बाउजरमा इन्धन राखिदै आइएको थियो।

लामो समयसम्म बाउजर प्रयोगमा नआएको भन्दै निगमले बाउजर बाहिरी जिल्ला पठाउने तयारी गर्दा त्यसको ब्यापक बिरोध पछि रोकिएको थियो। बाउजर रोक्न तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीले डिपोमा ताला नै लगाएकी थिइन्।

आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा आएको विमानस्थलको डिपोको प्रारम्भीक परीक्षण यसअघिनै ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारत र केन्द्रीय कार्यालयको परीक्षण पछि डिपो औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

निगमका प्रदेश प्रमुख यादवले इन्धन डिपोमा ३० हजार लिटर र बाउजरमा ११ हजार गरि ४१ हजार लिटर इन्धन भण्डारण गर्न मिल्ने बताए।

नियमित विमान सेवा सञ्चालन भए पनि तीन महिना पुग्ने इन्धन मौज्दात रहेको इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए। कथमकदाचित थप इन्धन आवश्यक परे तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने र त्यो सबै ब्यवस्थापन मिलाइएको प्रमुख श्रेष्ठले बताए।

‘आवश्यक परेको समयमा जतिखेर पनि थप इन्धन ल्याउन कुनै समस्या हुने छैन,’ उनले भने, ‘नेपाली सेनाका हेलिकप्टरदेखि आपतकालिन अवस्थामा यहाँ अवतरण गर्ने साना विमानलाई पनि अब समस्या रहने छैन।’

यसअघि दाङ आउने(जाने जहाजले काठमाडौंबाटै इन्धन बोकेर आउनुपर्ने बाध्यता थियो।

१९ सिटे बिमानका केही सिटमा इन्धन राखेर आउनु पर्ने हुँदा दाङ–काठमाडौं हवाई सेवा बाँकेको राँझा विमानस्थलको तुलनामा यात्रुलाई निकै महँगो पर्दै आएको थियो। दाङको टरिगाउँ एयरपोर्टबाट नेपालगन्जको राँझा विमानस्थल झन्डै १ सय १५ किलोमिटर पश्चिममा छ।

वायु सेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले दाङ एयरपोर्टमै डिपो औपचारिक रूपमा सुरु भएपछि अबदेखि विमानले सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने बाध्यता हटेको बताए।

‘इन्धन बोक्ने सिटमा अब यात्रु राखिने छ,’ उनले भने, ‘जस कारण भाँडादर केही सस्तो हुनसक्छ र यात्रुलाई पनि सहज हुनेछ।’
दाङ एयरपोर्टको धावनमार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे गरिएको छ। जसले ठूला विमान अवतरण गर्न सक्दैनन्। त्यहीँ भएर हाल यहाँ नेपाल बायु सेवा निगमको १९ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएको छ। बाँकेस्थित राँझा विमानस्थल भन्दा यात्रुलाई भाडा महँगो पर्नुको प्रमुख कारण ठूला विमान नआउनु पनि हो।

दाङस्थित टरिगाउँ एयरपोर्टकको धावनमार्ग बिस्तारको कुरा उठ्दै आएको पनि त्यसले सार्थकता पाउन सकेको छैन।

यद्यपि हरेक निर्वाचनहरुमा दाङ एयरपोर्टको बिस्तार सबै दलका नेता कार्यकर्ताको प्रमुख मुद्दा बन्दै आएको छ। भोट माग्ने र जित्ने माध्यम एयरपोर्ट बनाइदै आइए पनि एयरपोर्टको अवस्था उस्तै छ। तत्कालिन माओवादीका लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा दाङ एयरपोर्टको धावनमार्ग कालोपत्रे भएको थियो।

हाल दाङ(काठमाडौं न्यूनतम भाडा ८ हजार ८ सय १० कायम गरिएको छ भने अधिकतम १२ हजार ६ सय ६५ सम्म छ। काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैंया बढी भाडा निर्धारण गरिएको छ। त्यहीँ भएर अधिकांश दाङ, सल्यान, रोल्पा, प्यूठान, जाजरकोट र रुकुमका यात्रु विमान चढ्न बाँके जान बाध्य छन्।

दाङ एयरपोर्ट हवाइ सेवाको लागि सबैभन्दा सुरक्षित एयरपोर्टमध्येको एक मानिन्छ। यहाँ बाँकेको राँझा बिमानस्थल वा भैरहवा विमानस्थलमा जस्तो तुँवालोको समस्या छैन। यहाँ पुस माघमा पनि बिहान सबेरै पारिलो घाम लाग्नेगर्छ।

केही वर्ष पहिलेसम्म यहाँ दैनिक दुई पटक विमानले सेवा दिदै आएको थियो। तर, पछिल्लो समय विमान सेवा दैनिक छैन। विमान अभावका कारण पछिल्लो समय हप्तामा तीन दिन मात्रै सेवा दिने गरेको छ। अब अन्य निजी कम्पनीका साना विमानले पनि सेवा दिन सक्ने र त्यसले यात्रुलाई लाभ हुने आशा गरिएको छ ।

ताजा समाचार