महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन्। ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएको जनाएका छन्। जसमा उनले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन्।सो कार्यालय व्यवस्थापनमा ८० हजार ९ सय ११ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्। होटलमा बस्न, खानमा उनले २ लाख ७५ हजार १ सय ७ रुपैयाँ खर्च भएको बताएका छन्। स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रुपैयाँ खर्च भएको उनको भनाइ छ।पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०, काठमाडौंदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन्। ढकालले सो रकम सहयोगबापत आफूले प्राप्त गरेको भनेका छन्। सामाजिक सञ्जालमा ढकालले सार्वजनिक गरेको खर्च विवरणमा १ देखि १०० रुपैयाँ दिने ५०० जना रहेको बताएका छन्। यस्तै, १ सयदेखि १ हजार दिने ९ सय जना रहेको ढकालले भनेका छन्।ढकाललाई १ रुपैयाँ दिने २ जना र १० रुपैयाँ दिने ८ जना रहेको उल्लेख छ। ‘खासमा यो पैसा होइन, यो पैसासँग दाँज्न नमिल्ने माया हो। म नतमस्तक छु हजुरहरूले देश बनाउने युवाहरूलाई आत्मादेखि समर्थन गरिदिनुभएकोमा,’ उनले लेखेका छन्। चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालको भनाइ छ।