मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जना युवा पक्राउ

महेन्द्रनगर । मोटरसाइकल चोरी गरेको अभियोगमा बझाङ र कञ्चनपुरका दुई गरी पाँच जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

बझाङको दुर्गाथलीका २४ वर्षीय जै बहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्दै आएका सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखिया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा सिङ्तानलाई प्रहरीले पक्राउ
गरेको हो।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बझाङका जै बहादुरलाई बा.प्र.–०२–०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो।घटनाको थप अनुसन्धानका क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र.०२–०३० प ४५८० नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको थियो।

यस्तै उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।

यस्तै बाग्मती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–९ मंगलबजार बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका कञ्चन खत्रीको उक्त मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले उनीहरूले उक्त मोटरसाइकलमा बा.प्र.०२–०१९ प ९५६४ नम्बर प्रयोग गरी ललितपुर ताल्छिखेलमा चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा बुझाइएको छ।

साथै यस आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराई फेला परेका १ सय ९४ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको र १९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा लिएका १९ जनालाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

ताजा समाचार