साल्ट ट्रेडिङ धनगढी विरुद्ध अख्तियारमा मुद्दा

महेन्द्रनगर । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ। २०७७ असोजमा भारतबाट आयात गरेको ५० किलोको ३५ हजार ६ सय बोरा फ्री फ्लो नुन तथा १६ हजार ४० बोरा १ किलोमा प्याकेजिङ गरेर नुनको उपभोग्य मिति समाप्त भएको तर साल्ट ट्रेडिङले हाल आएर बिक्री गर्न खोजको भन्दै अख्तियारमा उजुरी परेको हो।

सञ्चार माध्यममा नुनबारे समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको ध्यानाकर्षण भएको थियो। अख्तियारले समेत छानविन गर्नु भनेर पत्राचार गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ।

छानविन समितिले आइतबार अध्ययन प्रतिवेदन कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाएको छ। समितिले साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको गोदाममा म्याद नाघेको नुन रहेको प्रतिवेदन पेस गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

‘सञ्चार माध्यममा समाचार आएपछि हाम्रो पनि ध्यानाकर्षण भएको थियो। मौखिक रुपमा निमित्त प्रमुखलाई सोधेका पनि थियौँ। यो विषयमा अख्तियारमा पनि उजुरी परेको रहेछ। अख्तियार दुरुपयोय अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयबाट पनि के भएको हो बुझ्नु भनेपछि हामीले समिति नै बनाएर छानविन गरेका छौँ’, उनले भने।

छानविन प्रतिवेदनमा ३५ हजार ६ सय बोरा ‘फ्री फ्लो’ नुन साल्ट ट्रेडिङको गोदाम नम्बर २ मा रहेको पाइएको छ। जुन नुनमा उपभोग्य मिति उल्लेख छैन। यस्तै साल्ट ट्रेडिङ परिसरमा १ किलोको प्याकेटमा प्याकेजिङ गरिएको आयो नुन १६ हजार ४० बोरा रहको खुलेको छ।

यो नुनको पनि उपभोग्य मिति समाप्त भइसकेको छ। खान अयोग्य ठहर भएको नुन उपभोग गर्ने गराउने प्रयोजनका लागि बिक्री वितरण नगर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी थापाले बताए। ’म्याद नाघेको नुन बिक्री वितरण नगर्न हामीले निर्देशन दिएका छौँ। खाने प्रयोजनका लागि नुन बिक्री वितरण नगर्न पनि भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने।

कैलाली भन्सार भएर भारतबाट नेपालमा भित्रिने नुनको नमुना परीक्षण भने धनगढीमा नगरिने तथ्य खुलेको छ। खाद्य पदार्थको आयात गर्दा भन्सार विन्दुबाट नमुना संकलनपछि प्रयोगशाला परीक्षण गरिनु पर्नेमा नुनको हकमा भने कैलाली भन्सारमा नमुना संकलन गरिँदैन।

नुनको लट अनुसार गुजरातबाट साल्ट ट्रेडिङले लिएको नमुनाको जाँच काठमाडौमा हुने गरेको छ। जबकि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय २०७५ मै धनगढीमा स्थापना गरिएको थियो।

तर सुदूरपश्चिमका लागि आयात हुने नुनको नमुना परीक्षणको रिपोर्ट भने काठमाडौंमा हुने गरेको छ। काठमाडौंबाट आउने मेल डाउनलोड गरेर भन्सार कार्यालयमा बुझाउने गरेको साल्ट ट्रेडिङ धनगढीका लेखा अधिकृत तेजबहादुर कुँवरले बताए।

‘नुनको नमुना परीक्षण काठमाडौंमा नै हुने गरेको छ। काठमाडौं केन्द्रीय कार्यालयले नुनको लटअनुसार नमुना परीक्षण गरेर रिपोर्ट हामीलाई मेलबाट पठाउँछ। त्यहीँ डाउनलोड गरेर हामी भन्सार कार्यालयमा पठाउँछौँ।’ खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय धनगढीमा खुलेको चार वर्ष भए पनि साल्ट ट्रेडिङले नुनको नमुना परीक्षण भने एक पटक पनि गराएको छैन।

ताजा समाचार