सुदूरपश्चिममा भुवा–भुस्सोको रौनक

महेन्द्रनगर । सुदूरपश्चिमका विभिन्न जिल्लामा भुवा पर्वको रौनक सुरु भएको छ। युद्धकालीन अभ्यासझै तरवार र ढालसहित नाचिने चलनलाई बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ। हातमा तरवार र ढाल लिएर सामुहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्न सुरु भएको छ। भुवा विशेष गरी सुदूरपश्चिमका बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ।

भुवा पर्वको अवसरमा घरघरमा गएर भुवा–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन रहेको छ। ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्व पनि रहेको छ। महाभारतको युद्धमा पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ। आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। भुवा पर्वमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारी खेल लगाउने र बेलुका देउडा खेलेर रमाइलो गर्ने चलन छ।

बझाङसहित सुदूपश्चिमका जिल्लाहरुमा आज आगोका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा जगाएका छन्। सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले तथा पाण्डवले कौरवसँगको लडाइमा विजय हाँसिल गरेको अवसरमा भुवा पर्व मनाउने गरिएको बताएका छन।

भुवा पर्वका अवसरमा आज बझाङ, अछाम, बाजुरा र डोटी जिल्लामा सार्वजनिक बिदा दिइएको छ। भुवा पुस पूर्णिमाको दिनदेखि सुरु भएर लगातार १५ दिनसम्म खेल्ने चलन रहेको जयपृथ्वी नगरपालिका–२ का गणेश खड्काले बताए।

उनका अनुसार पुरानो संस्कृति अनुसार विभिन्न गाउँ,टोलमा भुवो नाच देखाउने गरिन्छ। यो समय खेतीपातीको कामबाट फुर्सद हुने भएकाले स्थानीयबासिन्दा पर्वमा बढी सहभागी हुने गरेको खड्काले बताए। भुवो नाचका क्रममा नांगो र धारिलो तरवार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ। सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको छ।


सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ। अघिल्लो पुस्ताका बुढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन्।

यो पर्वको आकर्षण भनेको भुवा नाच हो। भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरवार लिएर बाजाको साथमा तरवार घुमाउदै नाच्ने गर्दछन्।

भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि भएको मान्यता छ। महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने थलारा गाउँपालिका–२ बगडाका संरक्षक बहादुर सायरले बताए।

ताजा समाचार