बैतडीमा माया लुहार हत्याका आरोपित कोली कारागार चलान

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहार हत्याका अभियुक्त भरतराम कोलीलाई कारागार चलान गरिएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौष ५ गते मुद्दा बुझाएको र कोलीलाई पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

जिल्ला अदालतले कोलीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । २१ बर्षीया लुहारको सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए । शिवनाथ ४ सोलपाला घर भएका कोलीले मृतक लुहारकी भदै १५ बर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए ।

घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए । उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

अभियुक्त कोलीले माया लुहारसंग प्रेम रहेको र उनले अरुसंग पनि प्रेम गरेको भन्दै हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए ।

ताजा समाचार