बेलौरीमा श्रृंखलाबद्ध चोरी भारतीय नागरिक संलग्न रहेको आशंका

महेन्द्रनगर । बेलौरी नगरपालिका–२ बैजुडाँडाका दुई घरमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ। हिजो राती बैजुडाँडाका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ।

मध्यरातमा करिब ४ लाख रुपैयाँ बराबरको नगद र मोबाइल, सुनचाँदीलगायत समान चोरी भएको निवेदन आएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

‘चोरीमा भारतीय नागरिक संलग्न रहेको पीडित परिवारको आशंका छ, भारतको प्रहरीसँग समन्वय गरी शंकास्पद व्यक्तिहरुमा निगरानी गरिरहेका छौं,’ उनले भने।

यस्तै हिजो राति करिब १० बजेको समयमा बेलौरी नगरपालिका–१ का मनोज चन्दको घरमा पनि चोरीको प्रयास गरिएको थियो। स्थानीयका अनुसार चोरहरुको समूहले घरको ढोका फोडेर चोरीको प्रयास गरेका थिए।

घरका मान्छेले थाहाँ पाएपछि चोर भागेको स्थानीयले बताए।

यहीँ पुस ६ गते बेलौरी नगरपालिका–१ फटैयाका राजेन्द्र भट्टको घरमा करिब ७ लाख रुपैयाँ बराबरको नगद र गरगहनासमेत चोरी भएको थियो। एक साता भित्रै चोरीको अर्को घटना भएपछि स्थानीय त्रसित भएका छन्।

निरन्तर चोरीका घटना हुन थालेपछि सीमा क्षेत्रमा राति ८ बजेदेखि बिहान ८ बजेसम्म आवतजावत बन्द गर्न स्थानीयहरुले माग गर्न थालेका छन्।

ताजा समाचार