धनगढीको एउटा गाउँ, जहाँ सुरक्षा गर्न स्थानीय आफै गस्तीमा जुटे

महेन्द्रनगर । धनगढी उपमहानगरपालिभित्र हुने चोरीका घटनाले स्थानीय आजित भएका छन्। भारतीय सीमासँग जोडिएका वडाहरूमा चोरहरूको बिगबिगी बढेको गुनासो बढ्न थालेको छ। दैनिक घर, पसल, सहकारी संस्था र सरकारी कार्यालयमा चोरीका घटना बढ्न थालका हुन्। गाउँबस्तीमा चोरीका घटना बढ्न थालेपछि सर्वसाधारणले रातिको समयमा गस्ती गर्न थालेका छन्।

उपमहानगरका विभिन्न वडामा रातिको समयमा हुने चोरीका घटना यो वर्ष झनै बढेको जनप्रतिनिधिले बताएका छन्। दैनिक गाउँ टोलमा चोरी भएको गुनासो लिएर वडा कार्यालयमा आउनेको संख्या बढेको वडा नम्बर १९ का अध्यक्ष बाँधुराम चौधरीले बताए। ‘हाम्रो वडामा पनि चोरीका घटना बढेका छन्।

दैनिक वडा कार्यालयमा आएर यहाँका मान्छेले प्रहरीमा भन्दिनु पयो भन्ने गरेका छन्,’ उनले भने, ‘चोरीका घटनाले निकै तनाव दिएको छ।’

धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा रहेका वडा नम्बर १८ र १४ मा पनि दैनिक चोरी हुने गरेको छ। चोरहरूले घरमा रहेका विभिन्न सामानहरू चोर्ने गरेका छन्। पानी तान्ने मोटर, साइकल, मोटरसाइकल, बाख्रा र कुखुराको चोरी हरेक टोल तथा बस्तीमा हुने गरेको छ। यसैगरी, पसल तथा अन्य कार्यालयमा पनि चोरीका घटना बढ्न थालेको वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए।

‘फूलबारी क्षेत्रमा चोरीका घटना बढेका छन्। हामीप्रति पनि सुरक्षा दिन नसकेको भन्ने गुनासो बढेको छ,’ उनले भने, ‘यहाँको इलाका प्रहरी कार्यालयमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा पनि चोरी नियन्त्रणमा समस्या भएको हो।’ वडा नम्बर १२ मा पनि चोरी हुने गरेको स्थानीयले बताएका छन्। बजार क्षेत्रमा पनि पसल र घरबाट चोरी हुने गरेको नगरवासीले बताएका छन्।

यस्तै, गत हप्ता वडा नम्बर ९ मा चोरहरूको समूहले घर आँगनमै पसेर स्थानीमाथि गोली चलाएका थिए। त्यसपछि पनि त्यो क्षेत्रमा घरभित्रबाट गहुँसमेत चोरी भएको छ। चोरीका घटनाबाट निकै आजित भएर रातिको समयमा टोल बस्तीमा स्थानीयले गस्ती गर्न थालेको वडा नम्बर ९ वनदेवी टोल विकास समितिका सचीव रूद्र पन्तले बताए।

‘चोरीका घटना बढेकाले टोलमा हामीले समूह बनाएर गस्ती गर्न थालेका छन्,’ उनले भने, ‘हामीले साँझ ९ बजेदेखि विहान ४ बजेसम्म अपरिचित व्यक्तिलाई बस्तीमा हिड्न रोक लगाउने निर्णय भएको छ।’ धनगढीमा चोरीका घट्ना बढ्दै गएपछि जनप्रतिनिधि तथा स्थानीयले प्रहरीको गस्ती बढाउनुपर्ने माग गरेका छन्।

ताजा समाचार