नेपाल समाजवादी पार्टीले बसाले राजनीतिक समितिको बैठक

महेन्द्रनगर । बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ।पुस २४ गते बस्ने गरी राजनीतिक समितिको बैठक बोलाइएको हो।

पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरी निर्णय हुनेछ।

गत मंसिरको चुनावमा नेपाल समाजवादीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। समानुपातिकतर्फ पनि माओवादीकै सूचीमा समाजवादीका उम्मेदवारको नाम समावेश थियो।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन्। समाजवादीका अध्यक्ष बाबुराम भट्टराई पनि सत्ता गठबन्धनका बैठकहरूमा सहभागी भइरहेका छन्।

भट्टराईले सोमबार पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धन तथा सरकारलाई थप प्रभावकारी बनाउनेबारे छलफल गरेका थिए।नेपाल समाजवादी पार्टीभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ।

यस विषयमा नेपाल समाजवादी र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको छ।यही सन्दर्भमा राजनीतिक समितिको बैठक बोलाइएको हो भन्ने प्रश्नमा नेपाल समाजवादीका प्रचार विभाग प्रमुख पाण्डेले भने, ‘यो विषयमा पनि छलफल हुन सक्छ। पार्टीले के निर्णय लिन्छ। तर हामी एकताबारे माओवादीसँग विभिन्न तहमा छलफलमा भने छौं।’

उनले अब समाजवादी धारको नेतृत्व गरेर अघि बढ्ने बेला आएको पनि बताए। समाजवादी धारको नेतृत्व गरेर अघि बढ्न नेसपा र माओवादी सहमतजस्तै भएकोले पार्टी एकताकै बाटोमा आफूहरू जान सक्ने पाण्डे बताउँछन्।

ताजा समाचार