धुर्मुश भन्छन: डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन

कञ्चनपुर । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् ।

निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाबाट लाईभ भिडियो मार्फत कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको वास्तविक कुरा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’

उनले, चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताए ।

धुर्मुसले भनेका छन्, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ । तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’

धुर्मुशले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दावी पनि गरेका छन् । उनले आफूले कुनै गल्ती गरेको र गल्ती गरेछु भने जुनसुकै सजाय खेप्न तयार रहेको बताएका छन् ।

सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको धुर्मुसको भनाइ रहेको छ । सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनले बताए ।

धुर्मुसले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए।

उनले कोरोना भाईरसको महामारी र सरकारबाट प्राप्त सहयोगको प्रतिवद्धता पुरा नभएकाले काम अघि बढाउन नसकिएको पनि बताए ।

ताजा समाचार