छोराको शुल्क तिर्न आमाको तिलहरी धिती

कोहलपुर । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन्।

कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि छोरा पृथीबहादुरले भने एसइई दिन पाउने भएका हुन्। ‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।

अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन्। ‘छोराको खुसी नै मेरो खुसी हो,’ उनले भनिन्।

मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको उनले बताइन्। उनका पति रोजगारीका लागि भारत पुगेका छन्। सम्पत्तिका नाममा एउटा जस्तापाताले बनाएको सानो घर छ। एक मुठी उब्जनी हुने जग्गा छैन। कस्तुरा पनि दैनिक ज्यालादारीको काम गर्छिन्। ‘तिलहरी धितो राखेर छोराले एसइई दिन त पाउने भयो। यसमा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर एसइई पासपछि के पैसाले छोरालाई पढाउने भन्ने चिन्ता लागेको छ।’

ताजा समाचार