पत्रकारमाथि २०७९ सालमा ५१ वटा आक्रमण तथा दबावका घटना

महेन्द्रनगर । आज देखी नयाँ वर्ष विक्रम संवत २०८० साल सुरु भएको छ । गएको वर्ष ०७९ सालमा पत्रकारमाथि आक्रमणका ५१ घटना भएको तथ्यांक सार्वजनिक भएका छन् ।

नेपाल पत्रकार महासंघले नयाँ वर्षको पहिलो दिन(शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै गत वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका ५१ घटना भएको जनाएको हो ।

महासंघले गत वर्ष नेपाली पत्रकारिता क्षेत्रका लागि थप चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष निकालेको छ । पत्रकार महासंघमा अभिलेखिकरण भएअनुसार ०७९ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हन्नका ५१ घटना भएका छन् ।

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्ववहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देज गरी ५१ घटना रहेको महासंघले विज्ञप्ति मार्फत जनाएको छ।

यो संख्या ०७८ सालको तुलनामा भने कम रहेको छ । महासंघमा अभिलेखिकरण भएअनुसार ०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हन्नका विभिन्न ७४ घटनाहरु भएका थिए ।

पछिल्लो समय युट्युब लगायत सञ्चारका विभिन्न माध्यममा प्रसारित कतिपय कन्टेन्टका आधारमा समग्र पत्रकारिता क्षेत्रप्रति नकारात्मक धारणा फैलिएकोप्रति महासंघले जोड दिएको छ ।

महासंघले पत्रकारिता क्षेत्रप्रति फैलिएका विभिन्न प्रकारका नकारात्मक धारणा सुधारका लागि थप प्रभावकारी प्रयासको खाँचो रहेको जनाएको छ ।

ताजा समाचार