महेन्द्रनगरलाई काफल खुवाइनेहरुको कथा

महेन्द्रनगर । यो सिजनमा अहिले जताततै काफल, आरुबखडा बेच्न राखिएको देखिन्छ । मानिसहरुले छानी–छानी काफल, आरुबखडा किनेर खान्छन् । यद्यपी ती काफल, आरुबखडा तराईको बजारसम्म कसरी पुग्छन् भन्ने कसैले विचार गर्दैनन् । डडेल्धुराको परशुराम नगरपालिका–८ मलासकी ४६ वर्षिया धनादेवी ठगुन्ना सहित ८/९ जना महिलाहरु मंगलवार विहानको खाना खाएपछि पिठ्युमा डोको भिरेर काफल पाकेको जंगलतिर लाग्छन् ।

दिनभरी जंगलमा काफल टिपेर साँझ ४/५ बजे उनिहरु घर पुग्छन् । घर पुगेर खाजा खाइसकेपछि धनादेवी घर नजिकैको बारीमा रहेको आरुबखडाको रुखमा उक्लिन्छिन् । पाकेर राताम्मे आरुबखडा टिपेर सक्दा झिसमिस रात परिसक्छ । दिउँसो टिपेर ल्याएका काफल र आरुबखडा बेच्नका लागी भोलीपल्ट(बुधवार) कञ्चनपुरको महेन्द्रनगर बजार पु¥याउन एउटा डोकोमा प्याक गरिन्छ ।

धनादेवीसंग काफल टिप्न गएका अरु महिलाहरुलेपनि यो बेलासम्म महेन्द्रनगर लैजान काफल, आरुबखडा डोकोमा तयार गरिसकेका हुन्छन् । महेन्द्रनगर लैजान काफल, आरुबखडा डोकोमा तयार गरिसकेपछि उनिहरु बेलुकाको खाना खान्छन् र राती ९/१० बजे सुत्छन् । अघिल्लोदिन दिनभरी काफल, आरुबखडा टिप्दाको थकान नमेटिदैँ भोलीपल्ट विहानै ३ बजे उठेर थकानलाई बिट मार्दै धनादेवी सहितका ८/९ जना महिलाहरुको टोली काफल र आरुबखडाको डोको भिरेर महेन्द्रनगरको यात्रामा लाग्छन् ।

पिठ्युमा काफल, आरुबखडाको भारी, हातमा सानो टर्च (लाईट), अर्को हातमा हसिया, मनमा जंगली जनावरभन्दापनि समयमै महेन्द्रनगर नपुगेपछि काफल, आरुबखडा बिक्रि हुदैँन की ! भन्ने चिन्ता सहित उनिहरुका पाइला मलासदेखी महेन्द्रनगर तिर अगाडी लम्किएरहे । करिब ३/४ घण्टाको पैदल यात्रापछि उनिहरु विहानको झिसमिस उज्यालोमा कञ्चनपुरको बेदकोट नगरपालिका–६ चुनेपानी पुग्छन् ।

चुनेपानी बाट महेन्द्रनगर पुग्न झण्डै १२/१३ किलोमिटरको यात्रा उनिहरु अटो रिक्सामा तय गर्छन् । प्रतिव्यत्ति ३ सयका दरले रिक्साभाडा तिरेपछि करिब करिब ३०/३५ मिनेटमा धनादेवि सहितको महिलाहरुको टोली चुनेपानीदेखी भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार पुग्छ । त्यहाँ स्थानिय व्यापारीहरु ठेला सहित मलासबाट आउने काफल, आरुबखडाको प्रतिक्षामा बसिरहेका हुन्छन् ।

धनादेवीसहितका महिलाहरु काफल, आरुबखडाको भारीसहित त्यहाँपुगेपछि व्यापारी र उनिहरुविच मोलमोलाइ र सामान तौलजाँचको काम शुरु हुन्छ । किनबेचको काम सम्पन्न भइसकेपछि स्थानिय व्यापारीले काफल, आरुबखडा ठेलामा राख्छन् र विक्रि गर्न बजारतर्फ निस्कन्छन् र धनादेवी सहितका महिलाहरु काफल, आरुबखडा विक्रिबाट प्राप्त रुपैया लिएर घरायसी सामाग्री किनमेलका लागी पसलतिर लाग्छन् ।

काफल र आरुबखडा भरेर ल्याएको डोकोमा उनिहरु महेन्द्रनगरबाट किनमेल गरेका केही घरायसी सरसामान राखेर आफ्नो घर मलासतर्फ फर्किन्छन् । धनादेवी सहितका महिलाहरुको त्यो दुःख, परिश्रम र बाध्यताले महेन्द्रनगरले पहाडमा पाइने काफल, आरुबखडा खान पाइरहेको छ । धनादेवी जस्ता महेन्द्रनगरलाई काफल खुवाइरहेका मलासका महिलाहरुले गरेको दुःख अनुसारको आम्दानी भने पाइरहेका छैनन् ।

उनिहरुले महेन्द्रनगरका व्यापारीहरुलाई काफल प्रति किलोग्राम १२०–१४० रुपैया र आरुबखडा प्रति किलोग्राम ७० रुपैयामा बेच्छन् । ‘हामी विहान ३ बजे राती यो काफल, कुलुम(आरुपोखरा) लिएर यहाँ आएका हौँ ।’ बुधवार महेन्द्रनगर बजारमा भेटिएकी धनादेवीले भनिन् ‘विहान ३ बजे उठेर अध्यारोमा ३०/४० किलो (किलोग्राम) को काफल, आरुबखडाको डोकाको भारी बोकेर ५÷६ घण्टाको बाटो हिडेर केही पैसा आम्दानी होला र घर चलाउन सहज होला भनेर मलासबाट यहाँ महेन्द्रनगर आउछौँ ।’ उनले अगाडी भनिन् ‘दुख जस्तो आम्दानी हुदैँन तर के गर्ने त्यहीपनि घरबार चलाउन काम गनैँ प¥यो ।’

काफल, आरुबखडा बेचेर कमाएको पैसाले घर फर्किदा गाडी चढेर जान समेत नपुग्ने गरेको उनले बताइन् । ‘दिनरात, भोक प्यास, घामपानी नभनेर केही पैसा आम्दानी होला भनेर गाउँमा पाइने काफल, आरुबखडा बेच्न यहाँ लिएर आउछौँ तर त्यो बेचेर कमाएको पैसाले साझ घर फर्किन गाडी चढेर जान पुग्दैन ।’ उनले भनिन् ‘अब यो आरुबखडा, काफल बेचेर एकजनाले बढीमा १५ देखी २५ सय रुपैया पाउँछ, त्यो रुपैयाले घरकालागी नुन, तेल, चामल, दाल किन्दा पुग्दैन त्यसैले साझ मलास (घर) फर्किदापनि हिडेरै जानुपर्छ ।’

यो मलास क्षेत्रका प्राय सबै महिलाहरुको दिनचर्या हो । मलासका महिलाहरुले काफल, आरुबखडा मात्रै नभएर अदुवा, पिडालु, दाउँरा समेत बेच्न महेन्द्रनगर पुग्छन् । ‘अहिले काफल,आरुपोखराको सिजन छ त्यहीभएर काफल, आरुबखडा बेच्न ल्याउँछौँ, सुन्तलाको सिजनामा सुन्तला ल्याउछौँ, अदुवा, पिडालु र दाउँरा पनि हामी बेच्नलाई मलासबाट महेन्द्रनगर आउने गछौँ ।’ उनले भनिन् ।

ताजा समाचार