आफु असल बने नगर आफैँ असल बन्छः नगर प्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले समाज, नगर, देश असल बनाउन आफु असल हुनुपर्ने बताउनुभयो ।

सोमबार स्थानिय तह तथा भीमदरत्त नगरपालिकाका बारेमा जानकारी लिन नगरपालिका पुगेका इन्टरनेशन पब्लिक स्कुलका विद्यार्थीहरुलाई नगर प्रमुख बोगटीले स्थानिय तहका काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउदैँ गाउँ, समाज, नगर तथा देश असल बनाउन आफु असल बन्नुपर्ने बताउनुभएको हो ।

‘गाउँ समाज, नगर, देश परिवर्तन गर्न सबैले कानुनको पालना गर्नुपर्छ, सबैले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गर्नुपर्छ र सबैले पहिला आफु असल बन्ने प्रयास गर्नुपर्छ ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘आफु असल बनेपछि यो नगर,देश आफैँ असल बन्छ ।’

उनले अगाडी भने ‘यस्तै विद्यालय आउनुपूर्व आफ्ना आमाबुवालाई ढोग गर्ने,गुरुलाई प्रणाम गर्ने, साथीभाईलाई अंकमाल गर्ने, ठुलालाई आदारसम्मान, सानालाई माया गर्ने संस्कारपनि सिक्न जरुरी छ ।’

यस्तै नगर उपप्रमुख नीलम लेखक जोशीले न्यायिक समितिको बारेमा जानकारी दिदैँ सिकाईलाई कक्षा कोठामा मात्र सिमित नराखेर स्थलगत अनुगमन गरेर स्थानिय तह र भीमदत्त नगरपालिकाका बारेमा जानकारी लिन आउनुभएकोमा खुशी लागेको बताउनुभयो । यस्तै उहाँले विद्यार्थीहरुको हकअधिकार र गुणस्तरीय शिक्षाका लागी नगरपालिकाले काम गरिरहेको समेत बताउनुभयो ।

इन्टरनेशनलका विद्यार्थीहरुले नगरपालिकाका विभिन्न शाखाहरुको अनुगमन गर्नुका साथै नगरपालिका र अन्य विषयमा प्रश्न गरहेका थिए । विद्यार्थीहरुले गरेका प्रश्नहरुको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले जवाफ दिएका थिए ।

ताजा समाचार