एनपिएलको सुरुआतसँगै राजनीतिक वृत्तमा चर्चा, दलका शीर्ष नेताहरूले दिए शुभकामना

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएसँगै यसको चर्चा राजनीतिक वृत्तमा समेत व्यापक बनेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितालाई लिएर प्रधानमन्त्री बालेन शाहदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले मैदानमै पुगेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सहभागी अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले एनपिएल छोटो समयमै देशकै ठुलो खेलकुद उत्सव बनेको उल्लेख गर्दै नेपाली क्रिकेटको प्रवर्द्धनमा जुट्ने सबै पक्षलाई धन्यवाद दिनुभएको छ।

यसै गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्षौँको मिहिनेत र समर्पणका कारण नेपाली क्रिकेट यो स्थानमा आइपुगेको स्मरण गर्दै टोलीहरूलाई सफलताको शुभकामना दिनुभएको छ। सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनपिएलले नेपाली खेलकुदको शक्ति र सम्भावनालाई प्रमाणित गरेको उल्लेख गर्नुभएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिभा पहिचान र खेलको विकासमा प्रतियोगिताले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइसिसीको मान्यता र आधुनिक प्रविधिको प्रयोगले नेपाललाई खेल पर्यटनको केन्द्र बनाउन सघाउने बताउनुभएको छ।

यस्तै सभामुख डिपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले पनि खेलकुदले राष्ट्रिय एकता मजबुत बनाउने, युवामा आत्मविश्वास भर्ने र देशको अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो भूमिका खेल्ने भन्दै प्रतियोगिताको भव्य सफलताको कामना गर्नुभएको छ।

spot_img

ताजा समाचार