शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य र विद्यार्थी हितबारे छलफल

प्रकाशित मिति:
spot_img

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र शैक्षिक सहकार्यबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्या समाधानमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण र विदेशबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रियालाई सहज बनाउन मन्त्रालय लागिपरेको जानकारी दिनुभयो। यसअघि त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको समकक्षता निर्धारणको काम हाल विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको र यसमा आवश्यक नीतिगत सुधार भइरहेको उहाँले स्पष्ट पार्नुभयो।

भेटमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको आपसी हितलाई केन्द्रमा राख्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र उच्च शिक्षाको क्षेत्रमा सहकार्य अझ विस्तार गर्न साइप्रस सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

spot_img

ताजा समाचार