भष्ट्राचार गरेको अभियोग मुद्दामा ५ लाख धरौटी तिरेर तारेखमा बसे निवर्तमान मेयर बिष्ट

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट ५ लाख रुपैयाँ धरौटी मागेको थियो ।

आदेशलगत्तै धरौटी बुझाएर पूर्वमेयर विष्ट तारेखमा बसेका विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताएका छन् ।अदालतले विष्ट भाग्ने र प्रमाण नष्ट गर्न नसक्ने अवस्था रहेको भन्दै धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको कार्कीले बताए ।

न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो । विष्टको मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको छ ।आयोगले १० असारमा पूर्वमेयर विष्टसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस भएको थियो । यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ ।

आर्थिक वर्ष २०७७।०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानुनी लाभ उठाएको भन्दै अख्तियारले निवर्तमान मेयर विष्टबाट ३ करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।

यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट पनि धरौटी लिई अदालतले तारेखमा राखेको छ ।

ताजा समाचार