८ तारिख भन्दा अगाडी नै विपिनको रिहाइ हुने विश्वास लिएका छौँः परराष्ट्रमन्त्री साउँद

महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउँदले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।

गृहजिल्ला कञ्चनपुरमा रहेका मन्त्री साउँदले बुधवार विपिनका आमा, बुवा र दाई लाई भेटेर सरकारले विपिनको रिहाइका लागि कुटनितिक प्रयास गरिरहेको बताए ।

‘हामी विपिनको रिहाइका लागि प्रयास गरिरहेका छौँ । अहिले कतारको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको छ ।’ परराष्ट्रमन्त्री साउँदले विपिनका परिवारसंग भने ‘केही दिन अगाडी मात्रै मैले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग काठमाडौंमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थिए ।’

उनले अगाडी भने ‘जवाफमा कतारका विदेश राज्यमन्त्रीले डिसेम्बर ८ तारिख (मंसिर २२ गते) भित्रनै नेपालले खुशीकोे खबर पाउनेछ भन्नुभएको छ । मलाई विश्वास छ अब केही दिनमै विपिन रिहा हुनेछन् ।’

आफु विपिनको रिहाइका लागि इजरायल, कतार, इजिप्ट, अन्तराष्ट्रिय रेडक्रस सोसाइटी संग निरन्तर सम्पर्कमा रहेको मन्त्री साउँदले बताए । ‘म निरन्तर इजरायल, कतार, इजिप्ट, अन्तराष्ट्रिय रेडक्रस सोसाइटी लगाएतका देश एवम् सस्थाहरुसंग सम्पर्कमा छु ।’ उनले भने ‘कतारका राज्यमन्त्रीले ८ तारिख भन्दा अगाडी नै खुशीको खबर पाउनुहुन्छ भन्नुभएको छ । मलाई विश्वास पनि छ । कदमकदाचित त्यो समयभित्र हामीले खुशीको खबर पाएनछौ भनेपनि मंसिर २३ गते म आफैँ कतार जादैँछु , त्यहाँ कतारका प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री लगाएत संग विपिनको रिहाइका लागि पहल गर्नेछु ।’

ताजा समाचार