महाकाली पुल पुगेर सम्पन्न भयो समुदायमा कांग्रेस अन्तर्गतको ‘संवाद यात्रा’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली पुल पुगेर समुदायमा कांग्रेस अन्तर्गतको ‘संवाद यात्रा’ कार्यक्रम सम्पन्न भएको छ । मंगलवार भीमदत्त नगरपालिका–१२ महाकाली पुलस्थित हरिहर स्नानघाटमा एक कार्यक्रमका विच ‘संवाद यात्रा’ सम्पन्न भएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए ।

झापाको मेची पुलबाट माघ १३ गते सुरु भएको संवाद यात्रा कञ्चनपुरस्थित महाकाली पुल पुगेर मंगलबार टुंगिएको हो । यस क्रममा २१ जिल्लाको १ हजार ४ सय ५० किलोमिटर यात्रा गरिएको बताइएको छ ।

मंगलवार समापन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्राका क्रममा पार्टीका धेरै साथीहरुको माया, साथ रहेको भन्दैँ नेपाली कांग्रेसलाई एक नम्बर पार्टी बनाउन सकिन्छ भन्ने आत्मविश्वास बोकेर फर्किन लागेको बताए ।

‘यो यात्राका क्रममा यति धेरै पार्टीका साथीहरुको माया र¥यो ।’ उनले भने ‘यो पार्टीलाई मज्जाले बनाउन सकिन्छ, नेपालको नम्बर वान पार्टी बनाउन सकिन्छ, २०१५ सालको कांग्रेस बनाउन सकिन्छ भनेर यो यात्राबाट आत्म विश्वास बोकेर काठमाण्डौँ फर्किदैँ छु ।’ यस्तै उनले आफुले सुनेका, पढेका जनताका समस्यालाई संवाद यात्राका क्रममा नजिकबाट महशुस गरेको बताए ।

‘नेपाली कांग्रेसलाई आम नागरिक सम्म लगेर जाने हो । यो आम नागरिक संग आधारित पार्टी हो । त्यसैले तलतिरै लगेर जानुपर्छ, समुदायले बनाएको पार्टी हो त्यसैले समुदायमा फर्काउनु पर्छ ।’ उनले भने ‘समुदायमा काग्रेस यो एउटा कार्यक्रम मात्र होइन, यसलाई अब पार्टीको स्थायी प्रवृत्ती बनाउन पर्छ, पार्टी समुदायका विच रहने गरीकन आफ्ना गतिविधि हुनुपर्छ, पार्टीलाई त्यही ढाँचामा ढाल्नु पर्छ भनेर अर्को अनुभव बोकेर जादैँ छु ।’

उनले अगाडी भने ‘मैले कतिपय सुनेका, पढेका तर नदेखेका वा अन्देखा गरेका कुराहरु जनताका समस्याहरु नजिकबाट अनुभव गरेको छु । मैले अब ती समस्या समाधानका लागि काम गर्नु छ ।’

यस्तै उनले सुशासन र विकास पार्टीको प्रमुख एजेण्डा बन्नुपर्ने बताए । ‘यो यात्रा क्रममा मैले गरेका अनुभव अन्य साथीहरुले गरेका अनुभव एक ठाउँमा मिसाएर पार्टीले अब एउटा एजेण्डा तय गर्नु पर्ने छ ।’ उनले भने ‘मैले अहिले देखेको पार्टीको प्रमुख एजेण्डा सुशासन र विकास यो दुईटा कुरा पार्टीको एजेण्डा रहनु पर्छ ।’

संवादका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावना केन्द्रित संवाद र सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम गरेको महामन्त्री थापाले बताए । यस्तै उनले पार्टीलाई सुदृढ र बलियो बनाउन पार्टी भित्रको गुुट, उपगुटहरुको अन्त्य गर्नुपर्ने समेत बताए ।

संवाद यात्रा समापन कार्यक्रमका सभापती एवम् नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले यो संवाद यात्राले पार्टीलाई सुदृृढ, बलियो र एकढिक्का बनाउने विश्वास लिएको बताए । यस्तै उनले यात्राका क्रममा उठेका प्रश्न र जनताका समस्यालाई पार्टीले सम्बोधन गर्नुपर्ने समेत बताए ।

ताजा समाचार