वर्तमान निर्वाचन प्राणली परिवर्तन गर्न आवश्यक देखियोः प्रमुख सचेतक लेखक

महेन्द्रनगर । नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेको निर्वाचन प्रणाली संशोधन गर्न आवश्यक देखिएको बताएका छन् ।

आइतवार नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी र जननिर्वाचित प्रतिनिधिहरु विच समन्वय बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक देखिएको बताएका हुन् ।

‘वर्तमान निर्वाचन प्रणालीले देशमा कुनैपनि राजनितिक दलको एकल बहुमत आउने स्थिति छैन ।’ उनले भने ‘त्यस कारण देशमा राजतैनिक स्थिरता कायम हुन सकेको छैन ।’ उनले अगाडी भने ‘मुलुकमा राजनैतिक स्थिरता कायम गर्न अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक देखिएको छ ।’

यस्तै उनले कार्यकर्तालाई पछिल्लो राजनितिक घटना क्रमलाई लिएर निरास नबन्न आग्रह गर्दै देश र जनातका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले निर्वाचित जनप्रतिनिधि र पार्टी विच समन्वय हुन आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त बैठकको आयोजना गरिएको बताए ।

बैठकमा वक्ताहरुले जननिर्वाचित प्रतिनिधि र पार्टीका नेता कार्यकर्ता समेतले जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

ताजा समाचार