महाकाली नदिको धार परिवर्तन गरिदैँ, नगरप्रमुख बोगटी नेतृत्वको टोलीद्धारा अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले महाकाली नदिबाट डुबान, कटानको जोखिम रहेको क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

विशेष गरि महाकाली नदिले भीमदत्त नगरपालिका वडा नम्बर–११, १२ र १३ आसपासका बस्तीमा पार्ने प्रभाव तथा क्षतिलाई मध्यनजर गर्दै स्थलगत अनुगमन गरिएको बताइएको छ । महाकाली नदिमा पानीको बहाव बढेपछि त्यसले निम्त्याउने क्षति तथा नोक्सानीलाई न्यूनिकरण गर्न वा समाधान गर्न सहज होस् भन्ने उद्देश्यले पूर्वतयारी अन्तर्गत अनुमगन गरिएको हो ।

भीमदत्त नगरपालिकास्थित महाकाली नदीको धार परिवर्तन गर्ने कार्यको समेत अनुगमन गरिएको छ । नगरपालिकाको पहलमा महाकाली नदि किनारका वडा नम्बर ११, १२ र १३ मा महाकाली नदिबाट हुने जोखिमलाई मध्यनजर गर्दै समस्या समाधानका लागि महाकाली नदिको धार परिवर्तन, स्परको लम्बाई बढाउने कार्य भइरहेको छ ।

वर्षातको समयमा महाकाली नदि पूर्व (भीमदत्त नगरपालिका) तर्फ भएर बग्ने भएको हुँदा त्यसले वर्षातमा अझ बढी कटान र डुवानको जोखिम भएको हुँदा हाल महाकाली पुल आयोजनाको स्टिमेट समेत परिवर्तन गरी महाकाली नदीको विच भागमा ५० मिटर चौडाई ५ मिटर गहिराई हुने गरी नदिको धार परिवर्तन गर्ने कार्य भइरहेको नगर प्रमुख बोगटीले बताए ।

उनकाअनुसार सो कार्यले महाकाली नदिबाट हुने बाढी, डुवान र कटानको जोखिम कम हुदैँ जानेछ । ‘महाकाली नदीलाई पालिकाको आन्तरीक आयआर्जन गर्नका लागी मात्र नभएर नदि किनारका बस्तीको सुरक्षाका, जोखीम न्यूनिकरणका लागि समेत काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ महाकाली पुल आयोजना र निर्माण कम्पनीसंग छलफल गरी बाढी कटान न्यूनिकरणका लागि नदिको धार परिवर्तन र स्परहरुको लम्बाई बढाउने कार्य भइरहेको छ ।’ उनले भने ‘बाढी, डुवानको समस्या समाधानका लागि निरन्तर अन्य सम्बन्धित निकायमा समेत पहल गरिरहेका छौँ ।’

भीमदत्त नगरपालिकाको वडा नम्वर ११, १२, र १३ को वस्ती तर्फ बढी कटानी भईरहेको अवस्थामा महाकाली नदीको धारलाई परिवर्तन गर्न निर्माण भइरहेको ५० मिटर चौडाई र ५ मिटर गहिरो धारले बाढी न्यूनिकरण गर्नेमा आफु विश्वस्त रहेको भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले बताए ।

महाकाली पुल आयोजना महेन्द्रनगरका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले महाकाली नदीको धार महेन्द्रनगर बजार तर्फ वस्ती तर्फ बढी गइरहेको अवस्थामा महाकाली नदीको धारलाई परिवर्तन गरी विचभागबाट बग्ने गरी कार्य भइरहेको बताए । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले तेस्रो संसोधन डिजाइनबाट अहिले महाकालीको धारलाई परिवर्तन गर्ने काम भईरहेको बताए ।

उनका अनुसार महाकाली नदीको धार पूर्वतर्फ बढी रहेको भएर त्यस धारलाई परिवर्तन गरी वस्तीलाई डुवानबाट जोगाउनका लागी सो कार्य भइरहेको हो ।

ताजा समाचार