ओपेराको स्विमिंङ्ग पुलमा तालाः नगर विकास समितिलाई बुझायो साँचो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर स्थित ओपेरा होटेलको स्विमिंङ्ग पुलमा ताला लगाइएको छ ।

सोमवार ओपेरा होटेल तथा स्विमिंङ्ग पुलका संचालकले पत्रकार सम्मेलन गरी स्विमिंङ्ग पुलको साँचो भीमदत्त नगर विकास समितिलाई बुझाएको हो ।

उक्त स्विमिंङ्ग पुलमा अहिले भीमदत्त नगर विकास समितिले ताला लगाएत आफ्नो स्वामित्वमा लिएको छ । नगर विकास समितिको तिन कट्टा जग्गा लिजमा लिएर निर्माण गरिएको स्विमिंङ्ग पुलको स्वामित्व नगर विकासलाई हस्तान्त्ररण गरिएको होटेल ओपेराका संञ्चालक खगेश्वर बोहराले बताए । भीमदत्त नगर विकास समितिले २०८१ जेष्ठ ८ गते नगर विकासको जग्गा लिज तथा भाडामा लिएर बनाएका संरचना हटाउन प्रकाशित गरेको सूचनाको पालना गर्दै कुनै पनि विवादमा नरहन स्विमिंङ्ग पुलको साँचो बुझाएको उनले बताए । साथै आफुले अवैध रुपमा जग्गाको प्रयोग नगरेको वैधानिक तवरले नगर विकाससंग जग्गा लिजमा लिएको समेत बताए ।

उक्त संरचना नगर विकासलाई हस्तान्त्ररण गरेकोले नगर विकास समितिले सो संरचना भत्काएपनि, जे गरेपनि आफुलाई स्विकार्य हुने उनले बताए । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले अब अवैध तथा गैरकानुनी रुपमा जग्गा अतिक्रमण गरिएका, लिजमा लिएर संरचना निर्माण गरिएका सबै जग्गा नगर विकास समितिले आफ्नो मातहतमा लिने वा त्यस्ता संरचना भत्काउने काम भइरहेको बताए ।

नगर विकास समितिलाई साँचो बुझाएका संरचनाहरु भत्काउने वा ठेक्का लगाएर संञ्चालन गर्ने वा नगर विकास समितिले आफै संचालन गर्ने विषयमा सर्वपक्षिय, सर्वदलिय बैठक बसेर निर्णय गरेर सोही अनुसार अगाडी बढ्ने उनले बताए । भीमदत्त नगरपालिकाले पछिल्लो समय अबैध रुपमा निर्माण भएका घर टहरा, सरकारी जमिनमा अनधिकृत रुपमा बसोबास गरेका संरचनालाई हटाउने कार्य गरिरहेको छ । अहिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको पुरानो बसपार्कमा नगर विकासको जमिनमा भएको अतिक्रमण हटाउने काम भइरहेको छ ।

पुरानो वसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइएको छ । करिब १० विघा जमिनमा अतिक्रमण गरेर निर्माण गरिएका निजी संरचना खाली गराउन थालिएको हो । गत सातादेखी नगरपालिकाले अतिक्रमित जग्गा तथा अवैध संरचनामाथि डोजर चलाउन थालेको हो । अवैध संरचना तथा अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएपनि अटेरी गरिएको पाइएकाले नगरप्रुमख पदम बोगटीको निर्देशनमा त्यस्ता जग्गा खाली गराउन डोजर चलाउन थालिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता अवस्थीले बताए ।

‘हामीले अवैध तथा अतिक्रमित जग्गा खाली गर्न वा प्रमाण भए कार्यालयमा पेश गर्न ३५ दिनको सूचना जारी गरेका थियौँ ।’ उनले भने ‘सो सूचनालाई अटेरी गरेको पाइएकाले नगरप्रमुखज्यूको निर्देशनमा भीमदत्त नगरपालिका–४ स्थित पुरानो बसपार्क क्षेत्रबाट अतिक्रमिति जग्गा खाली गर्न गत सातादेखी डोजर चलाइएको हो ।’ उनले अगाडी भने ‘अहिले सरकारी जग्गा अतिक्रमण गरी उक्त क्षेत्रमा अवैधरुपले बनाइएका पिल्लर हटाइएको छ, र निर्माण गरिएका तथा बसोवास गरिरहेका घर टहराका लागि अझ जेठ ८ गते देखी लागु हुने गरी सात दिनको सूचना जारी गरिएको थियो र सात दिनसम्मपनि खाली नगरिएमा ती त्यस्ता घर टहरामा पनि डोजर लगाएर भत्काइने छ ।’

सो क्षेत्रमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिका विभिन्न अध्यक्षहरुले फर्जी लिजमा जग्गा वितरण गरेका थिए । यसअघि नगरपालिकाकाले जिल्ला मालपोत कार्यालय, राजश्व र यातायात कार्यालय अगाडी रहेका अवैध संरचना समेत भत्काएको थियो ।

ताजा समाचार