स्विमिंङ्ग पुल सहितका सबै अवैध संरचना भत्काउने निर्णय

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यति बेला अवैध तथा अतिक्रमण जग्गा खाली गर्ने तथा आफ्नो स्वामित्वमा लिने कार्य तिव्र रुपमा गरिरहेको छ ।

नगरपालिकाले पहिलो चरणमा भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित पुरानो बसपार्क क्षेत्रको अवैध संरचना हटाएको छ । सो क्रममा केही संञ्चालक तथा व्यक्तिहरुले सरकारी जग्गा लिजमा लिएर वा अतिक्रमण गरी निर्माण गरिएका संरचनाकाको साँचो(चाबि) समेत नगरपालिकालाई बुझाइएका थिए ।

अवैध संरचना भत्काउनु पूर्व बसेको नगर विकास समितिको बैठकले साँचो बुझाएका संरचनाका हकमा नगरपालिकाले जेठ १८ गते (आज) कञ्चनपुरका प्रदेश सभा सदस्य सहितको भीमदत्त नगर विकास समितिको बोर्ड बैठक बसालेर त्यस्ता संरचना हटाउने वा आफ्नो स्वामित्वमा लिएर संञ्चालन गर्ने बारे छलफल गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार आज बसेको उक्त बैठकले साँचो बुझाएका सबै संरचनाहरु भत्काउने निर्णय गरेको नगर प्रमुख पदम बोगटीले बताए ।

‘हामीले यो अवैध संरचना भत्काउनु भन्दा पहिला यहाँका सम्पूर्ण प्रदेश सभा सदस्यहरु सहितको बैठकमा अवैध संरचना भत्काउने र कसैले आफ्नो संरचनाहरुको साँचो बुझाउन चाहे वा नगरपालिकालाई हस्तान्त्ररण गर्न चाहे बुझने र त्यसरी साँचो बुझाएका संरचनाहरुलाई भत्काउने वा नगर विकास समितिले आफ्नो स्वामित्वमा लिएर संञ्चालन गर्ने विषयमा जेठ १८ आजको दिन पुनः प्रदेश माननीयहरु सहितको बैठक बस्ने र उक्त बैठकबाट निर्णय गर्ने निर्णय गरेका थियौँ ।’ उनले भने ‘आज बैठक बसेको छ । बैठकले साँचो बुझाएका निजि लगानीमा निर्माण गरिएका संरचनाहरु सबै भत्काउने निर्णय गरेको छ ।’ उनले अगाडी भने ‘अब स्विमिंङ्ग पुल देखी भानु पार्टी प्यालेस लगाएतका सबै संरचनाहरु भत्काउने आजको बैठकले निर्णय गरेको छ ।’

करिब १० विघा जमिनमा अतिक्रमण गरेर निर्माण गरिएका निजी संरचना खाली गराउन थालिएको हो । सो क्षेत्रमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिका विभिन्न अध्यक्षहरुले फर्जी लिजमा जग्गा वितरण गरेका थिए । यसअघि नगरपालिकाकाले जिल्ला मालपोत कार्यालय, राजश्व र यातायात कार्यालय अगाडी रहेका अवैध संरचना समेत भत्काइसकेको छ ।

ताजा समाचार